
मन्त्रालय तोकिएका राप्रपाका मन्त्रीहरु बुधबारैदेखि कार्यालय जाने भएपछि माओवादी मन्त्रीहरु पुल्चोकस्थित मन्त्रीक्वार्टरमै बसेको स्रोतले जानकारी दिएको छ ।
मंगलबारसम्म माओवादी मन्त्रीहरुका नाम रहेका स्थानमा बुधबार कार्यालय समयअगावै नयाँ मन्त्रीहरुको नाम टाँसिएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता सहसचिव हरिप्रसाद पन्थीले बिनाविभागीय मन्त्रीहरुलाई प्रधानमन्त्री कार्यालयमा बस्ने व्यवस्था मिलाइएको भएपनि आदेश नआएकाले अरु व्यवस्था नगरिएको जानकारी दिए ।
मन्त्रिपरिषद कार्यालय स्रोतकाअनुसार बिनाविभागीय मन्त्रीहरु बस्नका लागि मन्त्रिपरिषद कार्यालयको २१८ नम्बर कोठमा कुर्सी, टेबुलको व्यवस्था गरिएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग माओवादी केन्द्रले आगामी निर्वाचनमा तालमेल गर्ने निर्णय गरेपछि प्रधानमन्त्री देउवाले माओवादीका मन्त्रीहरुलाई बिनाविभागीय बनाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्