१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


पाल्पाली ढाकाको व्यापार फस्टायो (भिडियो)


0
Shares

भाई टीकाको दिन, दिदीबहिनीले दाजुभाईलाई सप्तरंगी टीका, मखमली, गुर्दउली फूलको माला र शीरमा राम्रो ढाका टोपी लगाइदिने परम्परा रही आएको छ ।

भाई टिकाको दिन दिदी बहिनीले दाजुभाईलाई ढाका टोपी, आस्कोट र दाजु भाईले दिदीबहिनीलाई चोलो, पछ्यौरा लगायतका सरसमान एक आपसमा उपहार आदान प्रदानको लागि पाल्पाली ढाकाका सरसमान किन्ने पुरानो परम्परा नै रहेको छ । स्वदेशीदेखि विदेशी पर्यटकको लागि पाल्पाली ढाका उपहार र चिनो दिने बस्तुको रुपमै प्रख्यात हुँदै गएको छ ।

तिहार पछिजाडो समय शुरु हुने भएकाले पनि दिदीबहिनी दाजुभाईले शरीरलाई चिसोबाट बचाउन ढाकाका सरसमान उपहार दिने चलन रहेको छ । तानसेनमा मात्र हाल करिब १० वटा ठुला ढाका उद्योग छन् भने जिल्लाभरी नै घरेलु तानबाट ढाका बुन्ने संख्या बढ्दै गएको छ ।

एउटा पाल्पाली ढाका टोपीको मूल्य ७० रुपैयाँदेखि ५ सय रुपैयाँसम्म रहेको छ । दशैदेखि तिहारसम्म ढाकाका सरसमान बढी विक्री हुने भएकाले एक महिनामा ढाकाको व्यापार १ लाख देखि ५ लाखसम्म हुने गरेको व्यापारी बताउँछन् ।

हाल पाल्पाली ढाका उद्योगमा करीब ५ हजार जनाले रोजगारी पाएका छन् । ढाका बुन्ने कामदारहरुले मासिक ५ हजार देखि २५ हजारसम्म कमाइ हुने बताउँछन् ।

गत बर्ष १० करोड रुपैयाँको हाराहारीमा कारोबार भएको पाल्पाली ढाका यस बर्ष १२ करोडसम्मको कारोबार हुने ढाका उद्योगीहरु बताउँछन् ।

२०१५ सालमा एउटा तानबाट शुरु भएको पाल्पाली ढाका अहिले देशकै गौरबको रुपमा परिचित भएको छ । पाल्पाली ढाकाजस्तै घरेलु उत्पादनको लागि सरकारको सहयोग र प्रोत्साहन पाएमा मात्र स्वदेशी उद्योग फस्टाउने व्यवसायीले बताएका छन् ।

विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्