२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


डीपीएल ‘अक्सन’: ६ टोलीले किने ७२ खेलाडी, यी हुन् सबैभन्दा महँगा


0
Shares

कुमार चौलागाइँ (रासस) 

काठमाडौं, पुस २१ । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको खेलाडी खरिद–बिक्री (अक्सन) शनिबार सम्पन्न भएको छ ।

आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुने प्रतियोगिताका लागि ६ ओटा क्लबले अक्सनबाट ७२ खेलाडी र ‘ट्यालेन्ट हन्ट’बाट ६ जना खेलाडी छनोट गरेका छन् ।

शनिबार सम्पन्न अक्सनमा कुल १८६ जना खेलाडीहरु सहभागी थिए जसमध्ये प्रत्येक टोलीले ११ जना खेलाडीहरु टोलीमा लिएका छन् ।

खेलाडी खरिद गर्न टोलीहरुले अधिकतम् रु १२ लाख खर्च गर्न पाउने नियम थियो । रु १२ लाख बढी रकम खर्चिए २५ प्रतिशत जरिवाना तिर्नुपर्ने व्यवस्था थियो ।

अक्सनमा सहभागी २०५ खेलाडीहरुमध्ये ७२ जना खेलाडीहरु बिक्री भए भने बाँकीलाई कसैले पनि किनेन ।

यस्तै, ट्यालेन्ट हन्टबाट आएका १२ जना खेलाडीहरुमध्ये ६ जनालाई ६ ओटा टोलीले एक/एक खेलाडी लिएका छन् ।

अक्सनमा सहभागी ६ ओटा टोलीमध्ये खेलाडी खरिदका लागि वसन्त रेग्मी रणनीतिक खेलाडी रहेको रुपन्देही च्यालेन्जर्सले रु १४ लाख ४५ हजार खर्च गर्‍यो ।

यस्तै, सोमपाल कामी रणनीतिक खेलाडी रहेको धनगढी स्टार्सले रु १२ लाख २० हजार, शरद भेषावकर रणनीतिक खेलाडी रहेको महेन्द्रनगर युनाइटेडले रु ११ लाख ५० हजार, ज्ञानेन्द्र मल्ल रणनीतिक खेलाडी रहेको काठमाडौं गोल्डेन्सले रु १० लाख ९५ हजार, करण केसी रणनीतिक खेलाडी रहेको विराटनगर किंग्सले रु ९ लाख ९० हजार तथा दीपेन्द्रसिंह ऐरी रणनीतिक खेलाडी रहेको सीवाइसी अत्तरियाले रु ९ लाख खर्च गर्‍यो ।

अक्सनमा विनोद भण्डारी, ललितनारायण राजवंशी, ललितसिंह भण्डारी, भीम सार्की, पवन सर्राफ र आरिफ शेख अधिकतम् मूल्य दुई लाख ५० हजार रुपैयाँमा बिक्री भएका छन् ।

यस्तै, यसपटक प्रदीप ऐरी रुपन्देहीमा दुई लाख ४० हजार, सन्दीप जोरा सीवाइसी अत्तरियामा दुई लाख ३० हजार, रोहित पौडेल दुई लाख ३० हजार र भुवन कार्की अत्तरियामा दुई लाख १० हजारमा अनुबन्धित भएका छन् ।

कुन क्लबले कुन खेलाडी किने ?

महेन्द्रनगर युनाइटेड (शरद भेषावकर, ‘मार्की प्लेयर’)ले रोहित पौडेललाई रु दुई लाख ३० हजार, अविनाश बोहरालाई रु एक लाख ७० हजार, आरिफ शेख रु दुई लाख ५० हजार, अमरसिंह रौटेलालाई रु एक लाख २० हजार, सागर ढकाललाई रु एक लाख, सिद्धान्त लोहनीलाई रु ७० हजार, दिलीप नाथलाई रु ७५ हजार, शाहब आलमलाई रु ६० हजार, कुशल मल्ललाई रु ५० हजार, दीपेन्द्र चन्दलाई रु ३० हजार, सन्तोष भट्टलाई रु ३० हजार र सुशील खड्का रु ३० हजारमा खरिद गरेको छ ।

ज्ञानेन्द्र मल्ल मार्की प्लेयर रहेको काठमाडौं गोल्डेन्सले अक्सनबाट ललित राजवंशीलाई रु दुई लाख ५० हजार, अनिल साहलाई रु एक लाख ७० हजार, विक्रम भुसाललाई रु एक लाख ६० हजार, अविनभ यादवलाई रु ३० हजार, राशिद खानलाई रु एक लाख ७० हजार, योगेन्द्र कार्कीलाई रु ७० हजार, नन्दन यादवलाई रु ५० हजार, सोनु तामाङलाई रु ६५ हजार, सूर्य तामाङलाई रु ५० हजार, मेहबुब आलमलाई रु ५० हजार, सुधीर चौधरीलाई रु ३० हजार र विक्रम ठगुन्नालाई रु ३० हजारमा किनेको छ ।

त्यसैगरी, सोमपाल कार्मी मार्की प्लेयर रहेको धनगढी स्टार्सले पवन सर्राफलाई रु दुई लाख ५० हजार, दीपेश श्रेष्ठलाई रु ८० हजार, सौरभ खनाललाई रु एक लाख ६० हजार, विपीन खत्रीलाई रु ९५ हजार, हरिबहादुर चौहानलाई रु ९५ हजार, अमित श्रेष्ठलाई रु एक लाख ८० हजार, राजु रिजाललाई रु ७५ हजार, रोविन क्षेत्रीलाई रु ३५ हजार, सुनील धमलालाई रु एक लाख ८० हजार, सन्दीप रजालीलाई रु ४० हजार, धीरज शाहीलाई रु ३० हजार र कृष्ण ऐरलाई रु ३० हजारमा किनेको छ ।

यसैगरी, वसन्त रेग्मी मार्की प्यलेर रहेको रुपन्देही च्यालेन्जर्सले भीम सार्कीलाई रु दुई लाख ५० हजार, ललित भण्डारीलाई रु दुई लाख ५० हजार, प्रदीप ऐरीलाई रु दुई लाख ४० हजार, पुरन विकलाई रु ५० हजार, सन्दीप सुनारलाई रु एक एक लाख १० हजार, विक्रम सोबलाई रु ६० हजार, कृष्ण कार्कीलाई रु एक लाख, सुमित महर्जनलाई रु ७५ हजार, विनोद भण्डारीलाई रु दुई लाख ५० हजार, सुरज दराईलाई रु ३० हजार, अनिल खरेललाई रु ३० हजार र शेर मल्ललाई रु ३० हजारमा खरिद गरेको छ ।

त्यसैगरी, दीपेन्द्र ऐरी मार्की प्लेयर रहेको अत्तरियाले सन्दीप जोरालाई रु दुई लाख ३० हजार, जितेन्द्रसिंह ठकुरीलाई रु ७५ हजार, भुवन कार्कीलाई रु दुई लाख १० हजार, दीपेन्द्र रावतलाई रु ३० हजार, प्रेम तामाङलाई रु ५० हजार, आदील अन्सारीलाई रु ५० हजार, रामनरेश गिरीलाई रु ७५ हजार, कमलसिंह ऐरीलाई रु ९० हजार, शुबेन्दु पाण्डेलाई रु ५० हजार, खगेन्द्र जोशीलाई रु ३० हजार, रित गौतमलाई रु ३० हजार र ज्ञानेन्द्र कुँवरलाई रु ३० हजारमा खरिद गरेको छ ।

त्यसैगरी, करण केसी मार्की प्लेयर रहेको विराटनगर किंग्सले कुशल भुर्तेललाई रु एक लाख ६० हजार, पृथु बास्कोटालाई रु एक लाख २० हजार, अर्जुन अधिकारीलाई रु ३० हजार, किशोर महतोलाई रु एक लाख, संसाद शेखलाई रु ७५ हजार, राजेश पुलामीलाई रु ७५ हजार, आसिफ शेखलाई रु एक लाख ८० हजार, हरिशंकर शाहलाई रु ९० हजार, सुशन भारीलाई रु एक लाख, अमृत गुरुङलाई रु ३० हजार, तृतराज दासलाई रु ३० हजार र सुवास ऐरलाई रु ३० हजारमा खरिद गरेको छ ।

टी–२० आधारमा सन्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछन् । लिग चरणमा प्रत्येक टोलीले एक–अर्को टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको शीर्ष चार टोली ‘प्लेअफ’मा छनोट हुनेछन् । प्लेअफमा पुगेका चार टोलीमध्ये अंकतालिकामा पहिलो र दोस्रो हुने टोलीको विजेता फाइनल पुग्नेछन् ।

त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टोलीबीच हुने खेलको विजेता सीधै फाइनल प्रवेश गर्छ भने पराजित हुने टोलीले तेस्रो र चौथोबीचको विजेतासँग खेल्नेछ ।

प्रतियोगिता आगामी माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा आयोजना हुनेछ । प्रतियोगिताका सम्पूर्ण खेल धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हुनेछन् ।

प्रतियोगितामा ६ टोलीले सहभागिता जनाउनेछन् । सहभागी टोलीमा चौराहा धनगढी, सीवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन र विराटनगर किंग्स रहेका छन् ।

‘राउन्ड रोबिन’ लिगका आधारमा प्रतियोगिता सन्चालन हुनेछ । प्रतियोगितामा सबै टोलीमा दुई/दुई विदेशी खेलाडी अनिवार्य गरिएको छ ।

देशकै सर्वाधिक ठूलो धनराशि पुरस्कारको क्रिकेट प्रतियोगिताकारुपमा २०७३ र २०७४ सालमा डीपीएलको पहिलो र दोस्रो संस्करण भएको थियो । दुवै संस्करणको उपाधि टोली चौराह धनगढीले जितेको थियो ।