
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइबाट पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखन्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।
भाइटीकाको टीका दिनभर लगाउन कुनै बाधा नभएपनि साइत खोज्नेहरुले बिहान ११ बजेर ५१ मिनेटको उत्तमसाइतमा लगाएका छन् ।
लक्ष्मीपूजाका दिन स्थापित दियो, कलश र गणेशको पूजा गरी मूलथालीमा अष्टदल लेखी त्यसमा मार्कन्डेय, अश्वस्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी स्थापना गरिन्छ ।
थालीमै चित्रगुप्त, यमराज, यमुना, धर्मराजलगायत देवताको पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर सप्तरंगी वा पञ्चरंगी टीका, मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।
तिहारमा सप्तरंगी टीका लगाउने भनी प्रचार–प्रसार गरिएपनि शास्त्रीय मान्यता भने तिहारमा लगाइने टीकाको रङ रातो, सेतो, पहेंलो, हरियो र नीलो गरी पाँचओटा उल्लेख छ ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला र सेलरोटीलगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिइ सम्मान प्रकट गर्ने परम्परा छ ।
प्रतिक्रिया दिनुहोस्