१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


पहिलो चरणको निर्वाचन : यी क्षेत्रमा हुँदैछ शीर्ष नेताहरुबीच रोचक भिडन्त


0
Shares

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र नयाँ शक्ति नेपालका केही शीर्ष नेता यस निर्वाचनमा प्रतिष्पर्धा गर्दैछन् । मूख्यगरी यस चरणमा नुवाकोट, गोर्खा, ताप्लेजुङ, सिन्धुपाल्चोक, लमजुङ, रोल्पा, रुकुम, जाजरकोटमा राष्ट्रिय राजनीतिमा पहिचान बनाएका नेताहरु चुनावमा प्रतिष्पर्धा गर्दैछन् ।

नेपाली कांग्रेसबाट संसदीय समितिका सदस्य एवं राष्ट्रिय राजनीतिमा प्रभावशाली नेता अर्जुननरसिंह केसी र डा. रामशरण महत नुवाकोट जिल्लाबाट चुनावमा होमिएका छन् ।

नुवाकोट–१ बाट मैदानमा उत्रिएका डा. महतलाई माओवादी केन्द्रका हितबहादुर तामाङले बलियो चुनौती दिँदैछन् भने नुवाकोट–२ बाट प्रतिष्पर्धामा रहेका केसीसँग प्रतिष्पर्धा गर्दै एमालेका स्थानीय नेता नारायण खतिवडा मैदानमा उत्रिएका छन् ।

यसअघि २०७० को संविधानसभा निर्वाचनमा केसी र महत दुबै निर्वाचित भएका थिए ।

गोर्खा–१ बाट कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठलाई माआवादी केन्द्रका हरि अधिकारी र लमजुङमा दिलबहादुर घर्तीलाई माओवादी केन्द्रकै नेता देव गुरुङले चुनौती पेश गर्दैछन् ।

एमालेतर्फ पहिलो चरणमा केन्द्रीय स्तरका नेता योगेश भट्टराई ताप्लेजुङबाट प्रतिष्पर्धा गर्दैछन् । उनलाई रोक्न कांग्रेसले केशव दाहाललाई उतारेको छ । यसअघि भट्टराई काठमाडौँ–६ बाट दुई पटक पराजित भएका थिए ।

अर्को रोचक भिडन्त भने गोरखा–२ मा हुने भएको छ । कुनै समय एउटै दलमा रहेका दुई नेता डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ एउटै क्षेत्रमा चुनाव लड्दैछन् ।

यसपटक कांग्रेसको समर्थन लिएर भट्टराई नयाँ शक्तिबाट तथा एमालेको समर्थनमा श्रेष्ठ माओवादी केन्द्रबाट मैदानमा होमिएका छन् । भट्टराईले यसअघि गोर्खाबाटै चुनाव जितेका थिए भने श्रेष्ठ मकवानपुरबाट पराजित भएका थिए ।

रोल्पामा माओवादी नेता वर्षमान पुनलाई कांग्रेसका अमर पुन र रुकुम पश्चिममा जनार्दन शर्मालाई कांग्रेसका वीरबहादुर ओलीले चुनौती दिनछन् । यद्यपि, यी दुबै क्षेत्र माओवादीका लागि सुरक्षित झै मानिएको छ ।

जाजरकोटमा भने पूर्व गृहमन्त्री शक्ति बस्नेतलाई कांग्रेसका राजीवविक्रम शाहले चुनौती दिँदैछन् ।

यता, सिन्धुपाल्चोकले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा र माओवादी केन्द्रका अग्नि सापकोटाको भाग्य फैसला गर्दैछ । राणालाई एमालेका शेरबहादुर तामाङ तथा सापकोटालाई कांग्रेसका मोहनबहादुर बस्नेतले चुनौती दिँदैछन् ।

०४८ सालमा चुनाव जितेका राणा ०६४ र ०७० को निर्वाचनमा पराजित भएका थिए । तामाङ ०७० मा सोही क्षेत्रबाट विजयी भएका थिए । सापकोटा र बस्नेतले भने तीन क्षेत्र रहँदा २०७० को निर्वाचनमा दुबैले जितेका थिए । बस्नेत बहालवाला सञ्चार मन्त्री हुन् ।