Logo ३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026


फाल्गुनन्द गोल्डकपमा झापाको विजयी सुरुआत


0
Shares

जितेन्द्र भण्डारी (इमेज)

पाँचथर, पुस २१ । पाँचथरको फिदिममा शनिबारदेखि १०औं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन खेलमा झापा–११ विजयी भयो ।

कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङलाई ३–१ ले पराजित गर्दै झापा क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

झापालाई जिताउनेक्रममा खेलको २६औं मिनेटमा देवेन्द्र तामाङले, ४९औं मिनेटमा राजकुमार कन्दङवा र ५७औं मिनेटमा कर्ण लिम्बूले एक/एक गोल गरे ।

खेलमा सुरुआती अग्रता भने कर्णसिंह सोनामले लिएको थियो । खेल सुरु भएको छैटौं मिनेटमै कर्णसिंहका अनुप सेन्दाङले एक गोल गरेका थिए । तर, त्यो सान्त्वना गोलकारुपमा सीमित भयो ।

प्रतियोगितामा १० ओटा टिमको सहभागिता रहेको छ । झापा–११ र कर्णसिंह सोनामसँगै आयोजक फिदिम स्पोर्टिङ क्लब, मोरङ–११, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, बिग्रेड ब्वाइज क्लब, सरस्वती युथ क्लब, सुनसरी–११ तथा रोयल एफसी दार्जिलिङको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष विमल श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको विजेताले चार लाख र उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको फाइनल खेल यही पुस ३० गते हुने आयोजकले जनाएको छ ।