
फियस्ता राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नेछिन् । ज्यापु समाजले जनस्तरबाट स्थापना गरेको ज्यापु म्यूजियमको प्रचारको लागि यो फियस्ता आयोजना गर्न लागेको जनाएको छ ।
आइतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा फियस्ताकोबारेमा जानकारी गराउँदै समाजका अध्यक्ष प्रेम महर्जनले ललितपुर महानगरपालिकाले पर्यटक आगमनबाट आर्जन गरेको आयको १५ प्रतिशत पाटन म्यूजियमलाई दिँदै आएकोमा २ प्रतिशत ज्यापु म्यूजियमलाई उपलब्ध गराउन महानगरसँग माग गरेको पनि जानकारी गराए ।
फियस्तामा ललितपुर नगरको वल्खु टोलमा घोडेजात्रामा दौडाइने एकल घोडा प्रदर्शन गरिनेछ भने भिंद्यःलाछिमा ज्यापु समुदायको जीवन्त संस्कृति प्रदर्शन गरिनेछ ।
यस्तै, कोयलाछिका २ हजार वर्ष पुरानो गजलक्ष्मी देवीको कुँदिएको मूर्ति, झन्डै ३५० वर्ष पुरानो यौन गतिविधिकेन्द्रित चलचित्र ‘झ्यालिंचा’ देखाइनेछ ।
च्यासलमा मल्लकालीन त्यपे महारानीसम्बन्धी सामग्री प्रदर्शन हुनेछ भने नेवार परम्परागत भोजको स्वाद पनि लिन सकिनेछ ।
खपिन्छेँ टोलमा भने प्राचीन आकाश भैरवको मन्दिर दर्शन गर्नुका साथै यस स्थानको जीवन संस्कृति प्रदर्शन हुनेछ ।
चोछेँ टोलमा माटोको चैत्य प्रदर्शन गरिनुका साथै मंकाः (सबैको सहभागितामा) भजनको आयोजना भइरहेको हुनेछ ।
भेलाछेँ, गःछेँमा विभिन्न नेवार परिकारहरुको स्वाद चाख्न सकिनेछ भने च्वबुगाःहिति टोलमा सांस्कृतिक गतिविधि झल्काउने डकुमेन्ट्री प्रदर्शन हुनेछ भने अर्कोतर्फ मंकाः भजन पनि भइरहेनछ ।
लोंल टोलमा भने माटोबाट बनाइएका हस्तकलाका सामग्री प्रदर्शन हुनेछ ।
ललितपुरका विभिन्न संघ–संस्थाको सहयोग रहने उक्त आयोजनामा ज्यापु समुदायको बसोबास रहेको ४० ओटा टोलका वासिन्दाको सक्रियता रहनेछ ।
यो फियस्ता संयुक्त राष्ट्रसंघ दिवसको अवसर पारेर आयोजना गर्न लागिएको हो । फियस्ता ३ लाखले अवलोकन एवं अनुभव गर्ने आयोजकको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस्