१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


घोडेपानी र पुनहिलमा पर्यटकको घुइँचो


0
Shares

चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने घोडेपानी र पुनहिलबाट हिमशृङ्ला र सूर्योदयको मनोरम दृष्यावलोकन गर्न आएका पर्यटकको घुइँचो लागेको हो । समुन्द्री सतहबाट ३ हजार २१० मिटर उचाईमा रहेको पुनहिलमा हिजोआज दैनिक पाँच सय जनाको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गरेका छन् ।

शरद ऋतुको सुरुवातसँगै पुनहिलको प्रवेशद्वारमा पर्ने घोडेपानीमा रहेका होटल पर्यटक आगमन वृद्धिसँगै भरिभराउ भएका छन् । दैनिक २५० जना बाह्य र त्यतिकै संख्यामा आन्तरिक पर्यटक भ्रमणमा आउने गरेको घोडेपानी पर्यटक प्रहरी चौकीका प्रमुख विरेन्द्र महतोले जानकारी दिए ।

कार्यालयका अनुसार गत वैशाखदेखि भदौसम्म १४ हजार २३४ जना विदेशी पर्यटकले घोडेपानी पुनहिल क्षेत्रको भ्रमण गरेका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) सँग सहकार्य गरेर गुराँस संरक्षण अभियान सञ्चालन गरिएको छ । एक्यापले गरेको अध्ययन अनुसार, १६ प्रजातीका गुराँस पाईने यहाँको गुराँसे जंगललाई एसियाकै ठूलो भएको दाबी गरिएको छ ।