२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


सबैभन्दा बढी उम्मेदवारी दोलखामा र कम मनाङमा


0
Shares

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि आइतबार उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

यस निर्वाचनमा ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाको र ७४ निर्वाचन क्षेत्रमा प्रदेशसभाको निर्वाचन एकैसाथ हुँदैछ ।

निर्वाचन आयोगकाअनुसार एक निर्वाचन क्षेत्र भएको दोलखामा प्रतिनिधिसभाका लागि विभिन्न दलका १६ जना र दुई निर्वाचन क्षेत्र भएको प्रदेशसभाका लागि २४ जनाको उम्मेदवारी परेको हो ।

त्यस्तै, एक निर्वाचन क्षेत्र भएको मनाङमा प्रतिनिधिसभाका लागि दुईजना र दुई निर्वाचन क्षेत्र भएको प्रदेशसभाका लागि पाँचजनाको उम्मेदवारी परेको छ ।

दोलखापछि रामेछापमा बढी उम्मेदवारी परेको छ । एक निर्वाचन क्षेत्र भएको रामेछापमा प्रतिनिधिसभाका लागि १४ जना र दुई निर्वाचन क्षेत्र भएको प्रदेशसभाका लागि २२ जनाको उम्मेदवारी परेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

मनाङपछि मुस्ताङमा कम उम्मेदवारी परेको छ । एक निर्वाचन क्षेत्र भएको मुस्ताङमा प्रतिनिधिसभाका लागि दुईजना र दुई निर्वाचन क्षेत्र भएको प्रदेशसभाका लागि ६ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगकाअनुसार प्रतिनिधिसभातर्फ ३२३ र प्रदेशसभातर्फ ४८४ गरी जम्मा कुल ८०७ जनाको उम्मेदवारी दर्ता भएको छ ।

उम्मेदवारकोविरुद्ध उजुरी दिनका लागि सोमबार (आज) बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्मका लागि समय तोकिएको छ ।

उजुरीउपर कात्तिक ७ गते छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ र कात्तिक ८ गते उम्मेदवारी फिर्ता लिने कार्य सम्पन्न भएपछि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ ।

आगामी मंसिर १० गते पहिलो चरणमा हिमाली र उच्च पहाडका ३२ जिल्लामा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै, मंसिर २१ गते दोस्रो चरणमा तराई, मधेस र पहाडका ४५ जिल्लामा निर्वाचन हुनेछ । दोस्रो चरणको निर्वाचनका लागि भने उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने मिति यही कात्तिक १६ गते रहेको छ ।

नेपालको संविधानअनुसार १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी जम्मा २७५ सदस्यीय प्रतिनिधिसभाका लागि निर्वाचन हुनेछ ।

त्यस्तै, सातै प्रदेशका लागि ३३० प्रत्यक्ष र २२० समानुपातिक गरी जम्मा ५५० सदस्यीय प्रदेशसभा सदस्यका लागि निर्वाचन हुनेछ ।

पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ मतदाताले मताधिकारको प्रयोग गर्नेछन् ।

पहिलो चरणका लागि आवश्यक पर्ने मतदाता नामावली छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि भने दलहरूले यसअघि असोज २९ गते नै आ–आफ्नो पार्टीको बन्दसूची आयोगमा बुझाइसकेका छन् ।