२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


पोखरामा मान्छे निल्ने नाली ! कयौंको ज्यान लिइसक्यो नालीले


0
Shares

नदीपुरका पिजन मुसलधारे वर्षासँगै नालीमा आएको भेलमा बगेका हुन् । उनको मोटरसाइकल भने केआइसिंह पुलनजिक फेला परेको थियो ।

‘नालीको ढक्कन उघारेर हेर्दा मोटरसाइकल फेला पर्‍यो, मान्छे भेटिएन,’ पोखरा–१६ का वडाध्यक्ष जीवन आचार्यले भने ।

प्रहरीले प्राविधिकको सहयोगमा मोटरसाइकल बाहिर निकालेको थियो । बेपत्ताको आइतबार र सोमबार प्रहरीले खोजी गरेको थियो ।

वडाध्यक्ष आचार्यका अनुसार लामाचौरभन्दा तीन किलोमिटर टाढाको पुरन्चौर भुनपुरे गाउँदेखिको पानी आउने नालीमा पुनद्वय खसेका थिए । ‘पानी पर्दा त्यो नाली नदीजस्तो हुन्थ्यो,’ उनले भने, ‘१२–१५ वर्षअघि नै सडक विभागले बनाएको नालीमाथि ढक्कन (स्ल्याब) थिएन ।’

केही तलबाट भने ढक्कनले छोपिएको हुँदा केआइसिंह पुलनजिक उघार्न मिल्ने ढक्कन लगाएको ठाउँ खोलेर हेर्दा मोटरसाइकल भेटिएको उनले सुनाए ।

नाली सेती नदीमा मिसिएकाले बेपत्ताको खोजी कार्य कठिन बनेको छ । नालीमा ढक्कन भए पुन बेपत्ता हुँदैनथे ।

बाटुलेचौरको नालीमा पनि ढक्कन नहुँदा गत वर्ष गण्डकी बोर्डिङ स्कुलका प्रशासक कृष्ण थापा खसेर बगेका थिए । उनको भोलिपल्ट शव फेला परेको थियो ।

पोखरामा पुन र थापामात्र होइन, अरूले पनि नालीमा खसेर ज्यान गुमाइसकेका छन् । असोज १ गते बाटुलेचौरका थापाको ज्यान गएको राति नै बिरौटामा स्याङ्जाका गंगाप्रसाद सुवेदी बगेर बिते ।

पोहोर भदौ २२ गते पोखरा–२८ का शूरवीर जीसी मालपोत कार्यालयनजिकै मोटरसाइकलसहित बगेका थिए । उनको पनि निधन भएको थियो ।

त्यस्तै, सिद्धार्थ चोकमा एक महिला हिँड्दा–हिँड्दै नालीमा खसेकी थिइन् । पछि उनको शव फिर्के खोलामा भेटिएको थियो ।

मालेपाटनस्थित नहरमा बगेर एक बच्चाको ज्यान गएको थियो । सिसुवाकी शकुन्तला बाँस्तोलाका ९ वर्षीय छोराको पनि नहरकै पानीले ज्यान लियो । –अन्नपूर्ण पोस्ट दैनिकबाट