
पार्टीको संगठन विस्तारदेखि पार्टीकै लागि जीवन अर्पण गरेका व्यक्तिको मूल्याँकन गरेर टिकट वितरण नगरे चुनाव जित्न गाह्रो हुने प्रतिक्रिया दिँदै टिकट वितरणमा सही मूल्याँकन हुनुपर्ने माग उनीहरूले गरेका हुन् ।
भक्तपुर निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभातर्फ उम्मेदवारको सिफारिशमा परेका नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाले नगर र क्षेत्रीय कमिटीबाट आएका सिफारिशमा जिल्ला समितिले आकाङ्क्षीको नाम थप गरेर सिफारिश गरे पनि पार्टीले सही व्यक्तिको छनोट र मूल्याँकन गरेर मात्रै टिकट वितरण गर्नुपर्ने बताए ।
नेपाल तरुण दलका पूर्वअध्यक्ष एवं नेपाली काँग्रेसका युवानेता विनोद कायस्थले योगदानका आधारमा पार्टीले टिकट वितरण गर्नुपर्ने माग गरे ।
भक्तपुर निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभातर्फ उम्मेदवारको सिफारिशमा परेका उनले भने “पार्टीमै जीवन अर्पण गरेका, यसअघि अवसर नपाएका र पार्टीमा पु¥याएको योगदानको कदर गर्दै यसपटकको निर्वाचनमा पार्टीले टिकट वितरण गर्नुपर्छ, त्यसमा हामी विश्वस्त छौँ ।”
नेपाली काँग्रेस र नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको टिकटको सिफारिशमा परेका व्यक्ति शीर्षस्थ नेताको घर र पार्टी कार्यालयमा टिकट हात पार्न धौडधुप गर्नेक्रम बढेपछि नेताको योगदानका आधारमा टिकट वितरण गर्न माग गरिएको हो ।
सोही निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश नं २ सूर्यविनायकका उम्मेदवारको सिफारिशमा पर्नुभएका नेपाली काँग्रेसका जिल्ला सचिव उद्धव सिलवालले प्रतिनिधिसभा र प्रदशेसभा दुवैमा हुने टिकट वितरणमा राम्रा, जनतामाझ चिरपरिचित र पार्टीमा योगदान पुर्याएकाले टिकट पाएमा चुनाव जित्न गाह्रो नहुने बताए ।
निर्वाचन क्षेत्र नं २ का मध्यपुरथिमिका प्रदेशसभाका लागि उम्मेदवारको सिफारिशमा परेका युवानेता सन्तोष भट्टराईले पार्टीले यसपटक नेतृत्व सम्हाल्दै आएका नयाँ पुस्तालाई मौका दिनुपर्ने बताए ।
पटक पटक अवसर पाएकालाई भन्दा पनि अवसर नपाएका युवाको छनोट पार्टीले गर्न सके सहजै चुनाव जित्न सकिने उनले प्रतिक्रिया दिए ।
यता नेकपा (एमाले)का नेता तथा कार्यकर्ताले पनि टिकट वितरणमा पार्टीले सही व्यक्तिको छनोट गर्नुपर्नेमा जोड दिएका छन् ।
विशेषगरी एमालेको क्षेत्र नं १ र २ को प्रतिनिधिसभा र चारवटै प्रदेशमा सर्वसम्मतरूपमा उम्मेदवारको सिफारिश गरे पनि प्रदेश नं २ मा भने प्रदेशसभातर्फ भएको उम्मेदवार सिफारिशको विवादले एमालेमा तरङ्ग पैदा गरेको छ ।
गाउँ, नगर र क्षेत्रले सर्वसम्मतरूपमा पार्टीका पुराना नेता शशीजंग थापाको नाम सिफारिश गरेको र जिल्ला कमिटी बैठकमा समेत बहुमतले थापाको नाम सिफारिश गरे पनि पार्टी अध्यक्ष राजेन्द्र राजथलाले थापाको नाम काटेर आफ्नो मात्रै नाम पठाएपछि भएको विवादले एमालेभित्र तरङ्ग पैदा गरेको हो ।
पार्टी बैठकमा थापा र राजथला दुवैको नाम सिफारिश गरे पनि अध्यक्षले नियम विपरीत नाम काटेपछि थापाले न्यायको माग गर्दै प्रदेश कमिटी र केन्द्रीय तहसम्म निवेदन दिएका छन् ।
थापा र राजथलामध्ये कसलाई टिकट दिने भन्ने बारेमा पार्टी अध्यक्ष ओलीसमेत अलमलमा परेको र सही व्यक्तिलाई टिकट नदिए अध्यक्षकै क्षेत्रमा चुनाव जित्न निकै संकट भोग्नुपर्ने भन्दै एमाले नेता तथा कार्यकर्ताले योगदान एवं अवसरबाट वञ्चित भएका र जनताले रुचाएका व्यक्तिलाई टिकट दिनुपर्ने माग राखेका छन् ।
सूर्यविनायकमा भएको पत्रकारसम्मेलनमा युवानेता महेश बस्नेतले जेजस्तो गरी नाम सिफारिश भए पनि अन्तमा सही व्यक्तिले टिकट पाउने प्रतिक्रिया दिए ।
निर्वाचन नजिकिँदै गर्दा चुृनावी चहल पहल बढेको बेलामा नेपाली काँग्रेस र एमालेका नेता तथा कार्यकर्ताले भने जातिगत विषयलाई पनि मिलाएर लैजानुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्