
काठमाडौं, असार १६ । यो साता पनि पुँजीबजारमा दोहोरो अंकको गिरावट आयो ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २१ अंकले घटेर अन्तिम दिन ११ सय ९८ अंकमा आइपुग्यो । गत साता पनि नेप्से १५ अंकले झरेको थियो ।
कारोबार भएका सबै समूहमा गिरावट आएसँगै साताको नेप्से उच्च अंकले झरेको हो । बिमा समूह सबैभन्दा उच्च १७८ अंकले ओर्लियो ।
यो साता कारोबार परिमाणमा पनि गिरावट आयो । १८६ कम्पनीहरुको एक अर्ब चार करोड १६ लाख रुपैयाँ बराबरका ३६ लाख ७९ हजार कित्ता सेयरहरु खरिद–बिक्री भए ।
गत साता १९० कम्पनीहरुको एक अर्ब १२ करोड ३१ लाख रुपैयाँ बराबरका ४९ लाख ६१ हजार कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताको तुलनामा ७ प्रतिशतले कम हो ।
यो साता कारोबार रकम, कारोबार भएको सेयर संख्या र कारोबार संख्याको आधारमा पनि मेगा बैंक अग्रस्थानमा रह्यो ।
कारोबार रकमकै आधारमा मेगा बैंकलाई नेपाल इन्भेस्टमेन्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, नबिल बैंक र एभरेस्ट बैंकले क्रमशः पच्छ्याउन पुगे ।
प्रतिक्रिया दिनुहोस्