
मिथिलाञ्चलको महान् पर्व छठ आज विहान उदाउँदो सूर्यलार्य अघ्र्य दिएर समापन गरिएको हो ।
छठको मूख्य दिन हिजो काठमाडौंसहित तराईका विभिन्न जिल्लामा अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै षष्ठी माताको पूजा गरी धुमधामका साथ मनाइयो ।
त्यसपछि पनि भक्तजनहरु रातभर जाग्राम बसी पूजा आराधना गर्दै आज विहान उदाउँदो सूर्यलार्य अघ्र्य दिएर आ–आफ्ना घर फर्किएका हुन् ।
छठको तेस्रो तथा मूख्य दिन अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ दिन श्रद्धालु भक्तजनहरु नदी, तलाउ, पोखरीमा भेला भएका थिए ।
तराईसहित देशका विभिन्न जिल्लामा झकिझकाउसँग सिंगारिएका नदी तथा तलाउ किनारामा जम्मा भएका भक्तजनले श्रद्धापूर्वक सूर्य र षष्ठी माताको उपासना गर्दै पूजा गरे ।
जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीमा छठ मनाउन ब्रतालुको घुईंचो लागेको थियो ।
वीरगञ्जको घडीअर्वा पोखरीमा पनि छठको उत्तिकै रमझमका साथ यो पर्व मनाइयो । नवलपरासीमा पनि उसैगरी धुमधामसँग मनाईयो ।
परासीसंँगै उनवच, त्रिवेणी, नवलपुर क्षेत्रलगायतका नदी र तालहरुमा पनि पूजाआजा गरिएको छ ।
सप्तरीको कोशी ब्यारेज, भारदह, छिन्नमस्ता, कञ्चनपुर, हनुमाननगर, बीरेन्द्रबजार, सीतापुर, महुली, रुपनी, बर्साइन, पातो, कल्याणपुर, कडरबोना, मानराजा, सखडा, सदरमुकाम राजविराजसहितका स्थानहरुमा पनि उत्तिकै उल्लासले यो पर्व मनाईदै छ ।
कोशी ब्यारेजमा भारतको पूर्णिया, फारबीसगञ्ज, राजपुरसहित स्थानबाट छठ मनाउन ब्रतालु ओइरिएका छन् । विराटनगरमा पनि विभिन्न नदी, तलाउ, पोखरीमा भेला भएर यो पूर्व मनाइयो ।
झापाको मेची नदी किनारमा नेपाल भारत दुबै देशका श्रद्धालु भेला भएर पूजा आराधना गरेका थिए ।
यता, सिन्धुली जिल्लाका केही स्थानमा छठ मधेशी र पहाडिया समुदाय एकापसमा मिलेर मनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्