९ असार २०८२, सोमबार | Tue Jun 24 2025


धादिङमा प्रचार धमाधम, पूर्वसांसददेखि व्यवसायीसम्म उम्मेदवार (भिडियो)


0
Shares

प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार सिट रहेको धादिङमा एमाले र कांग्रेस गठबन्धनबीच नै प्रतिस्पर्धा हुनेछ ।

एमाले र माओवादी केन्द्रबीच भएको तालमेलपछि एमालेले दुई प्रतिनिधिसभा र दुई प्रदेशसभाका सिट लिएको छ भने माओवादी केन्द्रलाई दुईओटा प्रदेशसभा सिट दिइएको छ ।

एमालेमा पूर्वसांसददेखि जिल्ला अध्यक्षसम्म चुनावी दौडमा छन् । राप्रपासँग तालमेल गरेको नेपाली कांग्रेसमा पनि पूर्वसांसददेखि व्यवसायीसम्म उम्मेदवार छन् ।

विगतको स्थानीय तह निर्वाचनमा हालको निर्वाचन क्षेत्र नम्बर–१ मा तुलनात्मकरुपमा कमजोर देखिएको कांग्रेसले नयाँ अनुहार अघि सारेको छ ।

कांग्रेसले क्षेत्र नम्बर–२ को ‘ख’ प्रदेश राप्रपालाई दिएर बाँकी ५ सिटमा आफ्ना उम्मेदवार उठाएको हो ।

कांग्रेसले विगतका निर्वाचनमा भागै नलिएका चारजना नयाँ अनुहारलाई यसपालिको चुनावी मैदानमा उतारेको छ ।

प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर–१ मा कांग्रेसबाट युवा व्यवसायी विश्व अर्याल र एमालेका जिल्ला अध्यक्ष भूमि त्रिपाठीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रदेश–१ ‘क’मा नेपाली कांग्रेसको तर्फबाट मधुकुमार श्रेष्ठ, एमालेका तर्फबाट पूर्वसांसद राजेन्द्रप्रसाद पाण्डे छन् भने प्रदेश–१ ‘ख’मा कांग्रेसबाट प्रभातिकरण सुवेदी र माओवादी केन्द्रबाट जिल्ला अध्यक्ष शालिकराम जम्मरकट्टेल भिड्दैछन् ।

प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नम्बर–२ मा कांग्रेसले कानुन राज्यमन्त्री दिलमान पाख्रिनलाई अघि सारेको छ । पाख्रिन कांग्रेसका पुराना दिवंगत नेता दामन पाख्रिनका छोरा हुन् ।

पाख्रिनका प्रतिस्पर्धी नेकपा एमालेका वैकल्पिक केन्द्रीय सदस्य खेम लोहनी हुन् ।

प्रदेश–२ ‘क’मा कांग्रेसबाट जिल्ला सभापति रमेश धमला र एमालेबाट डा. रामकुमार अधिकारी उम्मेदवार छन् भने प्रदेश–२ ‘ख’मा माओवादी केन्द्रबाट जगत सिंम्खडा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट डम्बरबहादुर तामाङ चुनावी मैदानमा छन् ।

गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा १३ ओटा स्थानीय तहमध्ये ८ ओटा एमाले, तीनओटा कांग्रेस, एउटा माओवादी केन्द्र र एउटा राप्रपाले जितेको थियो ।

सिट थोरै भएका कारणले एमालेबाट पूर्वसांसद गंगालाल तुलाधर, गुरु बुर्लाकोटी र धनबहादुर घलेले भने टिकट पाउन सकेनन् ।

विस्तृत भिडियोमा हेर्नुहोस्