विवाह विशेष ‘पूर्वी चितवन महोत्सव’ हुने • Image Khabar Image Khabar


विवाह विशेष ‘पूर्वी चितवन महोत्सव’ हुने


Imagekhabar
१० कार्तिक २०७४, शुक्रबार १९:०६

विवाह विशेष ‘पूर्वी चितवन महोत्सव’ हुने

रत्ननगर जेसीजले शुक्रबार चितवनको रत्ननगरमा पत्रकार सम्मेलन गरी आगामी कात्तिक २४ गतेदेखि मंसिर ३ गतेसम्म महोत्सव हुने जानकारी गराएको हो ।

रत्ननगर सडकखन्ड विस्तारले व्यापार–व्यवसाय सुस्ताउँदै गएपछि चहल–पहल बढाउन फरक किसिमको महोत्सव आयोजना गर्न लागिएको महोत्सवका संयोजक निरज श्रेष्ठले बताए ।

विवाहको समय आइरहेकोले संस्कृति संरक्षण गर्ने उद्देश्यले महोत्सवमा सबै जातजातिको विवाह प्रक्रियालाई समेट्न खोजेको उनले बताए ।

सो अवसरमा रत्ननगर जेसीजका अध्यक्ष सुरेशचन्द्र आचार्यले महोत्सवमा वैवाहिक उत्सवका साथै व्यापारिक स्टलहरुसमेत रहने जानकारी दिए । उनकाअनुसार १५० ओटा व्यावसायिक र ५० ओटा विवाहसम्बन्धी स्टलहरु रहनेछन् ।

महोत्सवमा सांस्कृतिक प्रस्तुतिहरुसमेत रहनेछन् । चर्चित गायक–गायिकाहरु पशुपति शर्मा, शिव परियार, इन्दिरा जोशी, मिलन लामा, शितल शर्मा, ज्योति मगर, दुर्गेश थापालगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

महोत्सव अवलोकनका लागि प्रतिव्यक्ति ४० र विद्यार्थीका लागि २५ रुपैयाँ टिकटदर कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्