
आगामी १५ वर्षसम्म दिगो विकासका लक्ष्य हासिल गर्दै नेपाली जनताको जीवनस्तरलाई विश्वका मध्यम आय भएको मुलुकको दर्जामा पुर्याउने र बेरोजगारीको अन्त्य गर्ने र २५ वर्षभित्र मुलुकलाई विकासको उन्नत तथा उच्चस्तरमा पुर्याउने सो पार्टीको घोषणापत्रमा उल्लेख छ ।
सो पार्टीले दोहोरो अंकको आर्थिक वृद्धिलेमात्रै मुलुकको समग्र राजनीतिक आर्थिक तथा सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण प्रगति हुने दाबी गर्दै त्यसका लागि कृषि, पर्यटन, ऊर्जा, जडीबुटीमा विशेष लगानी गर्नुपर्नेमा जोड दिएको छ ।
नयाँ शक्तिले देशका प्रमुख स्थानलाई केबलकारबाट जोड्ने योजना अगाडि सारेको छ ।
त्यसमा काठमाडौंदेखि सगरमाथाको आधार शिविरसम्म, दीपायल–खप्तड– रारा, सुर्खेत– जुम्ला, थवाङ–दुनै, पोखरा–जोमसोम, विदुर– केरुङ, उदयपुर–ओखलढुंगा, धनकुटा–खाँदबारीमा केबलकार निर्माण गरिनेछन् ।
यस्तै, मुलुकका सातओटै प्रदेशमा एसियाली मापदन्ड र विशेष पहिचानसहितका सुन्दर प्रादेशिक राजधानीको विकास, हरेक प्रदेशमा अन्तर्राष्ट्रियस्तरका विश्वविद्यालय, हरेक प्रदेशमा ५०० श्ययाका ठूला अस्पताल निर्माण गर्नेसमेत नयाँ शक्तिको घोषणापत्रमा समेटिएको छ ।
यस्तै, नयाँ शक्तिले प्रदेश नम्बर–१ देखि ७ सम्म प्रदेशको विशिष्टताका आधारमा योजनासमेत अगाडि सारेको छ ।
आधुनिक कृषि प्रणालीको विकास, व्यवस्थित पर्यटन उद्योग, सिँचाइ तथा खानेपानीको सुविधा र वैज्ञानिक भूमिसुधारमार्फत् परम्परागत भूस्वामित्वमा परिवर्तन, कृषिमा यान्त्रिकरण, आधुनिकीकरण तथा व्यावसायिक बनाउने लक्ष्यसमेत राखिएको छ ।
वाम–लोकतान्त्रिक चरित्रको राजनीतिक कार्यदिशा नै आफूहरुको मूल राजनीतिक सिद्धान्त रहेको भन्दै नयाँ शक्तिले राजनीतिक आन्दोलनको पूर्णतासँगै आर्थिक विकास र समृद्धिको ढोका खुलेकोसमेत स्पस्ट पारेको छ ।
शुक्रबार राजधानीमा आयोजित घोषणापत्र सार्वजनिक समारोहमा सो पार्टीका संयोजक डा. बाबुराम भट्टराईले मुलुकको आवश्यकताअनुसार नै घोषणापत्र बनाइएको र त्यसलाई कार्यान्वयन गर्नसकिने बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले समावेशी तथा समानुपातिक सिद्धान्तलाई व्यवहारमा नै कार्यान्वयन गर्दै अग्रगामी आर्थिक विकासका लागि आफ्नो पार्टी क्रियाशील हुने दाबी गरे । रासस
प्रतिक्रिया दिनुहोस्