
शनिबार कांग्रेसले पोखरामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले कांग्रेस सधैं डर–त्रासविरुद्ध उभिने पार्टी भएको बताउँदै कम्युनिष्ट अधिनायकवादको त्रासबाट नेपाललाई मुक्त गरिने उद्घोष गरे ।
कम्युनिष्टहरु साम्यवादी शासन व्यवस्था लाद्न एकजुट भएको भन्दै देउवाले यो सपना पूरा गर्न नदिने दृढता व्यक्त गरे ।
‘हिजो निरंकुश शासन व्यवस्थाकाविरुद्ध लडेको हो, राणाशासन र राजतन्त्रविरुद्ध लडेको हो, फेरि कम्युनिष्ट शासनको नाममा डर–त्रासको शासनको अभ्यास गर्न खोजिएको छ’–उनले भने–‘यसकाविरुद्ध सम्पूर्ण प्रजातान्त्रिक शक्ति एकजुट हुनुपर्छ र परास्त गर्न रात–दिन नभनी खटिनुपर्छ ।’
कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट गठबन्धनले दुई तिहाइ सिट ल्याएर संविधानको मौलिक अधिकार नै परिवर्तन गर्ने उद्घोष गरेकाले त्यसको सबै लोकतन्त्रवादीले प्रतिवाद गर्नुपर्ने बताए ।
आसन्न निर्वाचन लोकतन्त्र र साम्यवादीबीचको लडाइँ भएको भन्दै नेता पौडेलले नेकपा एमाले र माओवादी केन्द्रले लोकतन्त्रको घोडा चढेर अधिकनायकवाद लाद्न खोजेको दाबी गरे ।
कांग्रेसको नेतृत्वमा शान्ति र संविधान आएकाले कांग्रेसकै नेतृत्वमा समृद्धि आउने दाबी पनि उनको थियो ।
यस्तै, कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले विश्वबाटै सकिएका कम्युनिष्टहरुले नेपालमा भने गरिबीलाई मुद्दा बनाउँदै साम्यवादी व्यवस्था लाद्न खोजेको आरोप लगाए ।
उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले बुलेटलाई आधार बनाएर आएका कम्युनिष्टलाई ब्यालेटको माध्यमबाट ठीक पारिने धारणा राखे ।
कानुनमन्त्री यज्ञबहादुर थापाले भने अबको प्रदेशसभा र प्रतिनिधिसभामा कास्कीका ९ ओटै क्षेत्रमा कांग्रेसले जित्ने दाबी सुनाए ।
कार्यक्रममा कांग्रेस नेता शुक्रराज शर्मा र कास्की सभापति कृष्ण केसीलगायतले धारणा राखेका थिए ।
सो अवसरमा अखन्ड नेपाल पार्टीका अध्यक्ष कुमार खड्कासहितका नेता तथा कार्यकर्ता एवं पूर्वसभासद तथा उद्योगपति सूर्यबहादुर केसीलगायतलाई पार्टी प्रवेश गराइएको थियो ।
उनीहरुलाई पार्टी सभापति शेरबहादुर देउवाले टीका र सदस्यता प्रदान गरेर पार्टी प्रवेश गराएका हुन् ।
प्रतिक्रिया दिनुहोस्