
एमालेका उपाध्यक्ष बामदेव गौतमको निवास भैंसेपाटीमा जारी बैठकमा दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि आपसी सिट बाँडफाँटलाई टुंगो लगाउने तयारी भएको छ ।
एमालेका सचिव पृथ्वी सुब्बा गुरुङकाअनुसार दुई दलका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठकले सिट टुंगो लगाएपछि एमालेको स्थायी कमिटीले उम्मेदवारको चयनबारे निर्णय गर्नेछ ।
एमालेलाई ६० र माओवादी केन्द्रलाई ४० प्रतिशतका आधारमा सिट बाँडफाँट गर्न एमाले महासचिव ईश्वर पोखरलको संयोजकत्वमा रहेको कार्यदलले शीर्ष नेतालाई आफ्नो प्रतिवेदन दिइसकेको छ ।
बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतका नेता छन् ।
गठबन्धनले संयुक्त घोषणापत्रलाई पनि चाँडै टुंगो लगाउने बुझिएको छ । दुई दलबीच गत असोज १७ मा पार्टी एकता र चुनावी तालमेल गर्ने घोषणा भएको थियो ।
ओली र दाहालले देशभर संयुक्त निर्वाचन परिचालन कमिटी र पार्टी एकता संयोजनसम्बन्धी भेला गरी संयन्त्र गठन गर्न शुक्रबार अन्तरपार्टी निर्देशन दिएका थिए । रासस
प्रतिक्रिया दिनुहोस्