
२०४६ सालमा प्रजातन्त्रको पुनर्बहाली भएपछि कांग्रेस नेता शेरबहादुर देउवाकै कारण यस जिल्लाले राष्ट्रिय पहिचान बनाएको हो ।
त्यसैले त २०४८ यताका सबै निर्वाचनमा डडेलधुराले पनि देउवालाई नै जनप्रतिनिधि बनाएर सिंहदरबार पठाइरहेको छ ।
यसपटक पनि उनै देउवा छैटौंपटक जिल्लावासीबीच प्रतिनिधि चुनिन कांग्रेसको सभापति एवं प्रधानमन्त्रीसमेतको हैसियतमा पुग्दै छन् ।
तर, यसपटक एमाले–माओवादीले बनाएको कम्युनिष्ट गठबन्धन देउवाका लागि ‘फलामे च्यूरा’ बन्नसक्ने देखिँदैछ ।
२०४८ देखि २०७० सालसम्म गरिएका पाँचओटा निर्वाचनमा देउवाको सिंहदरबार यात्रालाई कसैले रोक्न सकेन ।
चाहे २०५१ को मध्यावधिमा कांग्रेस दोस्रो दलमा खुम्चिँदा होस् वा २०६४ मा देशैभर माओवादीको बाढी आउँदा । देउवाको चुनावी भेललाई रोक्ने ताकत कुनै दल र उम्मेदवारले राख्न सकेनन् ।
त्यसैले त २०४८, २०५१ र २०५६ को प्रतिनिधिसभा एवं २०६४ र २०७० को संविधानसभा निर्वाचनमा चुनिँदै देउवाले २०४८ यताका सबै निर्वाचन जित्ने रेकर्ड कायम राख्न सफल भए ।
त्यतिमात्र होइन, यही अवधिमा देउवाले चारपटक प्रधानमन्त्री बन्ने अवसर पनि पाए । आफ्ना समकालीनहरु मन्त्रीकै लागि नेताको दयादृष्टि खोजिरहेका बेला देउवाले गृह मन्त्रालयबाहेक अरु मन्त्रालयमा चहार्न परेन ।
बरु, सिंहदरबारकै साँचो हातमा लिएर पूरै मुलुकलाई शासन गर्ने अवसर पटक–पटक पाए । त्यसैले त छैटौंपटक पनि चुनिएर सिंहदरबारको यात्रा गर्न उनी आफ्नै गृहजिल्ला डडेलधुरामा प्रतिस्पर्धा गर्न तयार भएका छन् ।
अघिल्ला निर्वाचनहरुमा देउवाका अघिल्तिर अरु पार्टीका उम्मेदवारहरु फिकाझैं हुने गरेका थिए । तर, यसपटक के होला ? के देउवाले आफ्नो विरासत फेरि जोगाउन सक्लान् ?
एमाले–माओवादीले बनाएको कम्युनिष्ट गठबन्धनको फलामेबार तोडेर सिंहदरबारको यात्रा सुनिश्चित गर्न सक्लान् ? सर्वत्र चासो बढेको छ ।
स्वाभाविक छ, डडेलधुरावासीलाई त यो उत्सुकता झन् बढी हुने नै भयो । यसपटक देउवालाई कम्युनिष्टको प्रहारमात्र होइन, आफ्नै घरभित्रको रडाको मिलाउनुपर्ने चुनौती झन् ठूलो बनेको छ ।
डडेल्धुरा कांग्रेसमा सल्केको आगो निभाउने चुनौती देउवाका लागि कम्ती सकसपूर्ण छैन । चरम गुटबन्दीले गत स्थानीय तह निर्वाचनमा विजय निश्चित मानिएको स्थानहरुमा कांग्रेस नराम्ररी पछारिएको छ ।
यहीबेला देशैभर कांग्रेस बढार्न भन्दै बनाइएको कम्युनिष्ट गठबन्धनले जिल्लामा बटुल्ने भोट कति होला ? आफ्नाविरुद्धमा गोलबद्ध हुने मतहरुलाई तान्नसक्ने एजेन्डा देउवासमक्ष अझै जीवित छन् या सकिए ? यसैले यस निर्वाचनमा देउवाको भविष्य तय गर्नेछ ।
गत स्थानीय तहको निर्वाचन मतसंख्यालाईमात्र हेर्ने हो भने जिल्लामा कांग्रेसकोभन्दा कम्युनिष्टको भोट सीधै बढी छ ।
२०७० मा २३ हजार ९२० मत ल्याएर चुनाव जितेका देउवालाई कम्युनिष्ट एकतापछि परिणाम आफ्नो पक्षमा पार्न चुनौती थपिएको कांग्रेस शुभेच्छुक ईश्वरीप्रसाद जोशी बताउँछन् ।
संविधानसभाको दुवै निर्वाचनमा देउवाबाटै पराजित माओवादी केन्द्रका खगराज भट्ट एमालेसहितको समर्थनमा उम्मेदवार बन्ने भएपछि जिल्लाभर निकै चासो, चर्चा र उत्सुकता बढेको छ ।
सरसर्ती हेर्दा दुई दलको भोट बढी भएपनि गृह र चारपटक प्रधानमन्त्री बन्दा समग्र सुदूरपश्चिमसहित डडेल्धुरामा गरेको विकास र आगामी अवसरसमेत मत पाउने आधार देउवाका लागि अझै जीवित रहेको स्थानीय बताउँछन् ।
जिल्लाबाट विभिन्न हैसियतमा सिंहदरबारमा प्रतिनिधित्व गर्दा होस् वा समग्र सुदूरपश्चिमकै विकासका लागि दिएको योगदान यी विषय नै देउवाको विजयको आधार हुनसक्ने स्थानीय बताउँछन् ।
संघीयता कार्यान्वयन गर्ने पहिलो आमनिर्वाचनसमेत मानिएको यस चुनावको परिणाम २६ वर्षदेखिको निरन्तरतालाई कायम राख्दै देउवाले आफ्नो पोल्टामा पार्नेछन् वा क्रमभंगता हुनेछ, त्यो भने मंसिर २१ पछिमात्र प्रस्ट हुनेछ ।
प्रतिक्रिया दिनुहोस्