
मीरा बस्नेत (इमेज)
काठमाडौं, पुस १९ । सवारी दुर्घटनामा परी ज्यान गुमाउनेमा पैदलयात्रीको संख्या दिन–प्रतिदिन बढिरहेको छ ।
सवारी दुर्घटनाका विभिन्न घटनामा ज्यान गुमाउनेमा ४० प्रतिशत त पैदलयात्री नै छन् ।
आर्थिक वर्ष २०७४/०७५ मा सवारी दुर्घटनाबाट ७९ जना पैदलयात्रीको मृत्यु भएको छ भने यस आर्थिक वर्षको मंसिरसम्ममा यो संख्या ३९ छ ।
यसरी सडक दुर्घटनामा पैदलयात्रीको मृत्युको संख्या बढ्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले गत वर्षको जेठ १६ गतेबाट जथाभावी बाटो काट्ने पैदलयात्रीलाई कारबाही गर्न सुरु गरेको थियो ।
जथाभावी बाटो काट्नेलाई २०० रुपैयाँ जरिवाना गर्ने र जरिवाना तिर्न नचाहनेलाई तीन घन्टासम्म ट्राफिक प्रहरीकै नियन्त्रणमा बस्नुपर्ने गरी सजायको व्यवस्था गरिएको थियो ।
यसबाट पनि दुर्घटनाको संख्या घटाउन केही हदसम्म मद्दत पुगेको ट्राफिक प्रहरीको अनुभव छ । तर, यो अभियानले पनि निरन्तरता पाएन ।
काठमाडौंका सबै सडकहरुमा पैदलयात्रीका लागि पर्याप्त बाटो छुट्याइएको छैन भने छुट्याइएका ठाउँबाट पनि नहिँडेको निकै भेटिन्छ ।
पैदलयात्रीहरुले आकाशेपुल र जेब्राक्रसिङ नभएका स्थानहरुमा जथाभावी बाटो काट्ने र नजिकैको आकाशेपुल वा जेब्राक्रसिङको पनि प्रयोग नगर्नु पनि दुर्घटनाको एउटा कारण बनेको छ ।
सवारीचालकबाट हुने लापरबाहीका कारण पनि धेरै दुर्घटनामा पैदलयात्रीको मृत्यु हुने गरेको तथ्यांक छ ।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले चेतनाको अभावका कारण पनि सडक दुर्घटनामा पैदलयात्रीको मृत्यु हुने गरेको बताउँछन् ।
पैदलयात्री हिँड्ने प्रयाप्त पूर्वाधार नहुँदा पनि उनीहरु बढी दुर्घटनामा पर्ने गरेको एसएसपी पन्तको भनाइ छ ।
विद्यमान ट्राफिक व्यवस्थापन दुर्घटना न्यूनीकरणको कामका लागिमात्र प्रयाप्त भएको बताउँदै उनले सचेतना कार्यक्रमहरु सन्चालन गर्न ठूलो जनशक्ति आवश्यक पर्ने बताउँछन् ।
काठमाडौंमा पछिल्लो समय कोटेश्वरदेखि कलंकीसम्मको सडकखन्डमा बढी सवारी दुर्घटना हुने गरेको छ ।
यस्ता दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीमात्र नभइ पैदलयात्रीहरु आफैंपनि सचेत हुन आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्