उम्मेदवारी टुंगो लगाउन दलहरुलाई सकस, नेताहरु निरन्तर छलफलमा • Image Khabar Image Khabar


उम्मेदवारी टुंगो लगाउन दलहरुलाई सकस, नेताहरु निरन्तर छलफलमा


Imagekhabar
१२ कार्तिक २०७४, आईतवार १०:३८

उम्मेदवारी टुंगो लगाउन दलहरुलाई सकस, नेताहरु निरन्तर छलफलमा

निर्वाचन आयोगले यही कात्तिक १६ गते उम्मेदवारी दर्ता गर्ने समय तोकेपछि दलहरु उम्मेदवार चयनमा व्यस्त देखिएका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको वाम गठबन्धनले अहिलेसम्म सबै निर्वाचन क्षेत्र बाँडफाँडको टुंगो लगाउन सकेका छैनन् ।

एमाले उपाध्यक्ष वामदेव गौतमको निवास भैंसेपाटीमा क्षेत्र बाँडफाँडको टुंगो लगाउन तीन दिनदेखि नेताहरु छलफलमा बसिरहेका छन् ।

दुई दलका नेता सम्मिलित कार्यदलले अधिकांश निर्वाचन क्षेत्र बाँडफाँडको टुंगो लगाइसके पनि केही जिल्लाको क्षेत्र बाँडफाँड टुंगो लगाउन सकेका छैनन् ।

वाम गठबन्धनले चितवन, सल्यान, झापालगायतका जिल्लाका निर्वाचन क्षेत्रको टुंगो लगाउन नसकेका हुन् ।

दुवै दलका शीर्ष नेताहरुबीच शनिबार दिनभरको छलफलपछि प्रतिनिधिसभातर्फ ४७ जिल्लाका १ सय २८ सिट र प्रदेशसभातर्फ २ सय ५६ सिटको बाँडफाँटमा अधिकांश क्षेत्र टुंगो लागेपछि केहीको बाँकी रहेकाले आज थप छलफल गरी निर्णय गरिने बताइएको छ ।

दुई दलबीच पहिलो र दोस्रो चरणको निर्वाचनमा गरेर एमालेलाई ६० र माओवादी केन्द्रलाई ४० प्रतिशतको हाराहारीमा सिट संख्या बाँडफाँड हुने गरी सहमति भएको नेताहरुले बताएका छन् ।

दुई दलले पहिलो चरणको निर्वाचनका लागि प्रतिनिधिसभातर्फ एमालेलाई २१ र माओवादी केन्द्रलाई १६ सिट रहने गरी सिट बाँडफाँट गरेका थिए ।

दोस्रो चरणमा एमालेलाई ७५ को आसपास र माओवादी केन्द्रलाई ५० को हाराहारीमा सिट संख्या पर्ने भएको छ ।

केही स्थानको टुंगो लाग्न बाँकी रहेकाले कुन दललाई कति संख्या भन्ने अन्तिम संख्या आउन बाँकी रहेको छ । दुई दलका शीर्ष नेताहरुले आजसम्म सबै क्षेत्रको टुंगो लगाउने तयारी गरिरहेको बताइएको छ ।

यसैबीच नेपाली कांग्रेसले पनि उम्मेदवार छनोट प्रक्रिया जारी राखेको छ ।

कांग्रेसले बनाउने भनिएको लोकतान्त्रिक गठबन्धनमा सहभागी हुन चाहने दलहरुलाई कति सिट छुट्याउने र कुन क्षेत्रमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा पनि छलफल गरिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको कांग्रेस संसदीय समितिको बैठकमा उम्मेदवार चयन र लोकतान्त्रिक गठबन्धनका विषयमा छलफल भइरहेको बताइएको छ ।

कांग्रेसले आजसम्म सबै उम्मेदवार तय गर्ने रणनीति बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्