२३ असार २०८२, सोमबार | Mon Jul 7 2025


स्वादिलो चामलका लागि प्रख्यात ‘कालानमक’ धान लोप हुने खतरामा(भिडियो)


0
Shares

नेपालको तराईका केही जिल्लामा मात्र पाइने छुट्टै पहिचान बोकेको कालानामक धानको खेती लोप हुन थालेपछि कपिलवस्तुमा कालानमक धानको उत्पादनमा निकै नै कमी आएको हो ।

पछिल्लो समय कालानमक धान कपिलवस्तुमा हराउँदै गएको छ । जिल्लाको पहिचानको रुपमा स्थापित कालानिमक धान खेती गर्न छाडेपछि हराउँदै गएको हो ।

कपिलवस्तुमा कुल ८३ हजार हेक्टर खेती योग्य जमीन मध्ये ७२ हजार हेक्टरमा धान खेती भईरहेको छ । जसमा पछिल्ला बर्षहरूमा मात्रै ५ हजार हेक्टरमा कालानामक धान लगाइने गरिएको थियो ।

तर अहिले भने ४ सय ७५ हेक्टरमा मात्र यसको खेती गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । स्थानीय जातको बहुमुल्य चामल मानिने कालानमकको मूल्य बजारमा अन्य चामलभन्दा दोब्बर महंगो छ ।

ठूलाबडा तथा पाहुनाहरूको स्वागतको राम्रो परिकारका रूपमा लिइने भएकाले बजारमा यसको माग अत्याधिक छ तर कम उत्पादन, रोग तथा किराको प्रकोप तथा ढिलो तयार हुने हुँदा यसको खेती कमैले गर्ने गरेका छन् ।

धानको रंग कालो भएकाले यसलाई कालानमक धान भनिएको कृषकहरू बताउँछन् ।

खाँदा अति स्वादिष्ट तथा बास्नाले भरिपूर्ण भएको कालानमक धान खर्चिलो, कम उत्पादन हने तथा रोग कीरा बढी लाग्ने हुँदा अहिले कपिलवस्तुमा कमै मात्रामा यसको खेती गरिएको कृषक बिनोद कुमार यादव बताउँछन् ।

कम खर्चमा बढी उत्पादन हुने हाईब्रीड धान खेती प्रति कृषकहरूको बढ्दो आकर्षणका कारण समेत कालानमक धान बिस्थापित हुँदै गएको कृषकहरूको भनाई छ ।

सिंचाईको ब्यवस्था भएको खेतमा मात्र लाउन सकिने, धान फल्न बढी समय लाग्ने, कम उत्पादन हुने लगायतका समस्याले गर्दा अहिले कृषकहरूले यो धान लाउन छाडेको कृषि कार्यालयको भनाइ छ ।

यस धानको संरक्षण तथा बढि उत्पादन गराउनका लागि बाली संरक्षण सम्बन्धी विशेष योजना ल्याइने जिल्ला कृषि विकास कार्यालयका प्रमुख खुर्शेद अहमद खाँ बताउँछन् ।

स्थानिय प्रजातिको यस धानको संरक्षणका लागि जिल्ला कृषि विकास कार्यालयले समेत कुनै पहल नगरेको कृषकहरूको गुनासो छ ।

अन्य प्रजातिका धानसँगको संसर्ग गरि बढि उत्पादन गराउने प्रकारको प्रजाति बनाएर यसको जर्गेना गर्नुपर्ने उनीहरूको माग छ ।

निःशुल्क रूपमा बीउ तथा औषधी वितरण गरेपनि यसको खेती गर्नेहरूको संख्यामा बृद्धि हुन सक्ने कृषकहरू बताउँछन् ।

हाल बजारमा यसको मूल्य प्रति किलो सय देखि १ सय ५० रूपैंयासम्म पर्ने गर्दछ ।