
विगतका सबै निर्वाचनमा कम्युनिष्ट बर्चस्व रहेको भोजपुरमा यसपटक पनि पकड गुम्न नदिने दाउमा उनीहरु जुटेका छन् । कांग्रेस भने एमाले–माओवादीको गठबन्धन तोडेर विजयको माला पहिर्याउने सूरमा छ ।
प्रतिनिधिसभाको एक र प्रदेशसभाको दुई निर्वाचन क्षेत्र रहेको भोजपुरमा चुनावी रौनक दिन प्रतिदिन बढन थालेको हो । यहाँ लोकतान्त्रिक र कम्युनिष्ट गठबन्धनबीच तीब्र प्रतिस्पर्धा हुने भएको छ । कम्युनिष्टहरु भोजपुर आफ्नो किल्ला ठान्छन् भने कांग्रेस पनि राणा शासनविरुद्ध आन्दोलन गर्दादेखि भोजपुर आधारक्षेत्र भएको दावी गर्छन । तर, विगतका निर्वाचनमा कम्युनिष्टले नै परिणाम आफ्नो पोल्टामा पारेको र अहिले गठबन्धन बनेकाले जीत आफ्नै सुनिश्चित रहेकोमा एमाले र माओवादी नेता कार्यकर्ता ढुक्क छन् ।
राजनीतिक विश्लेषक तीर्थ राई पनि परिणाम कम्युनिष्टको पोल्टामै जानसक्ने दावी गर्छन ।
भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनमा नौ ओटा स्थानीय तहमा एमालेले चार, नेपाली कांग्रेसले चार र माओबादी केन्द्रले एक तहमा जितेका छन् । ८१ वडामध्ये ३७ मा एमाले २५ मा कांग्रेस, १८ मा माओबादी केन्द्र र एक वडामा संघीय समाजबादीले जितेको छ ।
प्रतिनिधिसभातर्फ कांग्रेसले युवा नेता उमेशजंग रायमाझीलाई उम्मेदवार बनाएको छ भने एमाले–माओवादी गठबन्धनबाट मओवादीका सुदन किराँती प्रतिष्पर्धामा उत्रिएका छन् ।
प्रदेशका दुई क्षेत्र मध्ये (क) मा बाम गठबन्धनका तर्फबाट अखिलका पूर्व अध्यक्ष राजेन्द्र राई र लोकतान्त्रिक गठबन्धनबाट संघीय समाजबादी फोरमका केन्द्रीय सचिव अजम्वर काङ्माङ राई आमनेसामने भएका छन् ।
स्थानीय तहमा एमाले–माओवादीले १८ हजार ७४७ र कांग्रेस–फोरमले १३ हजार ३७९ मत ल्याएका थिए ।
क्षेत्र (ख) मा बाम गठबन्धनबाट एमाले पोलिटब्यूरो सदस्य एवं पूर्व सन्चारमन्त्री शेरधन राई र कांग्रेसबाट पार्टीका पूर्व सचिव गोविन्द कार्की प्रतिष्पर्धामा छन् । स्थानीय तहको मतलाई हेर्दा एमाले–माओवादीको २१ हजारभन्दा बढी र कांग्रेस–फोरमको करीब नौ हजारमात्र मत देखिन्छ । सीधा हेर्दा राईको मत बढी देखिन्छ । तर, स्थानीय तहकै मत नै यो निर्वाचनमा निर्णायक नहुने विश्लेषक बताउँछन् ।
राजनीति दुई गठबन्धनमा समेटिँदा देशले स्थायी सरकार पाउन सकेमा विकास निर्माण र समृद्धीका लागि सकारात्मक सहयोग पुग्ने अपेक्षा पनि यहाँका जनताको छ ।
दलहरुले चुनाव प्रचार थालिसकेका छन् । तर, पछिल्ला निर्वाचन भड्किलो र खर्चिलो बनेकामा भने गुनासा आउन थालेको छ । आफ्नो पक्षमा मत तान्न दलहरुले ततदातालाई भोजभतेर चलाउनेदेखि पूरा गर्न नसकिने आश्वासनका पुलिन्दा बाँड्न थालेका छन् । तर, मूख्य निर्वाचन अधिकृत हरीशचन्द्र इङ्नाम भने आचार संहिता विपरितका कार्य गर्न कडाई गरिएको दावी गर्छन् ।
भड्किलो र खर्चिलो निर्वाचनले चुनाव त जितिएला तर पछि जनतालाई परिणाम दिन नसक्दा अन्ततः व्यवस्था र दलीय पद्धतीतर्फ नै जनतामा वितृष्णा जाग्न सक्नेतर्फ भने सचेत हुनु जरुरी देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्