
झापा क्षेत्र नम्बर–३ बाट राप्रपाले महामन्त्री राजेन्द्र लिङदेनलाई उठाउने पक्कापक्की भएपछि कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालेसमेत उक्त स्थानमा आफू उठ्ने अनौपचारिकरुपमा घोषणा गरेसँगै दुई पार्टीमा केही असमझदारी बढेको छ ।
कांग्रेसले केही साताअगाडि सिटौलाको नामलाई समानुपातिकको अग्रस्थानमा राखेको भएपनि पछिल्लोपटक उनको नाम समानुपातिकबाट हटाएपछि राप्रपा बढी सशंकित भएको हो ।
नेपाली कांग्रेसका अग्रज नेता तीर्थराम डंगोलले झापा क्षेत्र नम्बर–३ का पार्टी नेता तथा कार्यकर्ताले पूर्वमहामन्त्री सिटौलालाई त्यस क्षेत्रबाट उम्मेदवार बनाउन दबाब आएपछि उनलाई उम्मेदवार बनाउन लागिएको जानकारी दिए ।
सो क्षेत्रमा कांग्रेसले आफ्नो उम्मेदवार उठाएपछि त्यसको सट्टामा अर्को स्थानमा राप्रपालाई सघाउने नीति कांग्रेसको छ ।
अहिले मुलुकमा चुनावको वातावरण बनाएर विकास, समृद्धि कायम गर्न लोकतान्त्रिक गठबन्धनको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनले सो विषयलाई लिएर राप्रपाले गठबन्धनलाई असर पर्नेगरी निर्णय गर्न नहुने बताए ।
गठबन्धनले राप्रपालाई प्रतिनिधिसभामा सात सिट दिने समझदारी गरेपछि पार्टीको झापा क्षेत्र नम्बर–३ मा अत्याधिक सम्भावना देखिएकाले महामन्त्री लिङदेनलाई त्यहाँबाट उम्मेदवार बनाउने सहमति भएको पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिए ।
राप्रपाले झापा क्षेत्र नम्बर–३ अतिरिक्त मकवानपुर–१, दैलेख–१, पर्सा–१, काठमाडौं–७ मा उम्मेदवारको टुंगो लगाइसकेको छ । बाँके र धनुषा दुई स्थानमा समझदारी हुनका लागि छलफल भइरहेको थियो ।
राप्रपाले सोही विषयलाई लिएर थप निर्णय लिन सोमबार (आज) ३ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रलगायतका वाम गठबन्धन तथा चुनावपछिको एकता कायम गर्ने सहमति भएपछि निर्माण भएको लोकतान्त्रिक गठबन्धनमासमेत चुनावमा सिट संख्यामा बाँडफाँट भएको हो । रासस
प्रतिक्रिया दिनुहोस्