९ असार २०८२, सोमबार | Mon Jun 23 2025


चितवनमा ५२ मतदानस्थल अतिसंवेदनशील


0
Shares

सुरक्षा समितिका सदस्य तथा प्रहरी उपरीक्षक दीपक थापाकाअनुसार भारतीय सीमानाका जोडिएका, भौगोलिक विकटता भएका र विगतको निर्वाचनमा केही असहज परिस्थिति देखिएका मतदानस्थललाई अतिसंवेदनशील मतदानस्थलको सूचीमा राखिएको हो ।

ती मतदानस्थलमा प्रहरी निरीक्षककै नेतृत्वमा जनपद र म्यादी प्रहरी परिचालन हुने थापाले जानकारी दिए ।

यसपालि मतदाताको आधारमा न्यूनतम् ११ जनादेखि अधिकतम् ५० जनासम्म प्रहरी मतदान केन्द्रमा खटिनेछन् ।

सशस्त्र प्रहरी र नेपाली सेनाको अर्काे तहको घेरा भने यथावत् रहने उनले बताए । जिल्लामा १६१ मतदानस्थलमध्ये १०९ मतदानस्थललाई भने संवेदनशील क्षेत्रमा राखिएको छ ।

जिल्लाका कुनैपनि मतदानस्थललाई सामान्यको सूचीमा नराखेको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समितिका संयोजक नारायणप्रसाद भट्टले जानकारी दिए ।

केन्द्रीय सुरक्षा योजनाको आधारमा जिल्ला सुरक्षा समितिले बनाएको सुरक्षा योजनाअनुसार निर्वाचनपूर्व, निर्वाचनका बेला र निर्वाचनपश्चात्का फरक–फरक सुरक्षा योजना बनाइएको उनले बताए ।

पूर्वसुरक्षा योजनाको काम पूरा भएर प्रहरीले निगरानी थालेको बताउँदै प्रजिअ भट्टले यसपटकको १६१ मतदानस्थलको ४०८ मतदान केन्द्रमा चार घेरामा सुरक्षाकर्मी परिचालन हुने उल्लेख गरे ।

उनकाअनुसार मतदान केन्द्रको पहिलो घेरामा म्यादी प्रहरीसहितका जनपद प्रहरी, त्यसपछि सशस्त्र प्रहरी, त्यसपछि सेना र आवश्यकताअनुसार अनुसन्धान टोली परिचालन गरिनेछ । महिला प्रहरी हरेक केन्द्रमा अनिवार्य रहनेछन् ।

जिल्लामा एक हजार ७१० म्यादी प्रहरी र तीन हजार २९५ जनपद प्रहरी परिचालन हुने प्रहरी उपरीक्षक थापाले बताए ।

तीनओटा निर्वाचन क्षेत्र रहेको चितवनमा आवश्यकताअनुसार नेपाली सेना र सशस्त्र प्रहरीसमेत परिचालन हुनेछन् ।

तीन निर्वाचन क्षेत्र रहेको चितवन जिल्लामा यस वर्ष तीन लाख ५४ हजार ३६ मतदाता रहेका छन् । चितवनमा दोस्रो चरणमा निर्वाचन हुनेछ । रासस