Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


असन्तुष्ट कार्यकर्ताद्वारा एमाले भक्तपुर कार्यालयमा तालाबन्दी


0
Shares

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर–१ मा एमालेले आफ्नो उम्मेदवारी नदिने निर्णय गरेको विरोधमा उत्रिएका सो क्षेत्रका पार्टीका नेता तथा कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका हुन् ।

भक्तपुर क्षेत्र नम्बर–१ का एमाले नेता दामोदर दंगालले वाम गठबन्धनको नाममा भक्तपुर क्षेत्र नम्बर–१ को प्रतिनिधिसभा र प्रदेशसभातर्फ (क) र (ख) दुवै क्षेत्र माओवादी केन्द्रलाई दिने भन्ने जानकारी आएकाले त्यसको विरोधमा पार्टी कार्यालयमा तालाबन्दी गरेको बताए ।

दंगालले भने–‘हामी वाम गठबन्धन र एमाले नेतृत्वले गरेको निर्णयको विरोधी होइनौं तर भक्तपुर निर्वाचन क्षेत्र नम्बर–१ मा एमालेको राम्रो पकड हुँदाहुँदै पनि पार्टीको अस्तित्वमा आँच आउने गरी प्रतिनिधिसभा र दुईओटै प्रदेशसभामा माओवादी केन्द्रलाई छाड्ने निर्णय भयो भन्ने जानकारी आयो, यसलाई सच्याउन माग गर्दै तालाबन्दी गरेका हौं ।’

तालाबन्दी गर्दै क्षेत्र नम्बर–१ का नेता–कार्यकर्ताले आफ्नो मागको बेवास्ता गरी एमालेले तीनओटै क्षेत्र छाडेमा स्वतन्त्र उम्मेदवार उठाउने बताएका छन् ।

यसबारेमा पार्टीका जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले तालाबन्दीले कुनै असर नपर्ने बताउँदै केही कार्यकर्ताले यसमा असन्तुष्टिमात्र पोखेको दाबी गरे । यसबारेमा पनि पार्टीमा छलफल भइरहेको उनले बताए ।

यसअघि, वाम गठबन्धनले भक्तपुर क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभातर्फ नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेलाई छाड्ने र प्रदेशतर्फ निर्वाचन क्षेत्र नम्बर–२ प्रदेशसभा (ख) माओवादी केन्द्रलाई छाड्ने निर्णय गरेको भन्दै एमाले नेता–कार्यकर्ताले विरोध गरेका थिए ।

तालाबन्दीकाक्रममा नेता तथा कार्यकर्ताले निर्वाचन क्षेत्र नम्बर–१ को प्रदेश नम्बर (ख) मा एमालेले कुनै हालतमा नछाड्ने र अरू दललाई दिए स्वतन्त्र उम्मेदवार उठाउने बताएका छन् ।

एमालेले भक्तपुर क्षेत्र नम्बर–१ मा प्रत्यक्षतर्फ प्रेमकुमार श्रेष्ठ, कृष्णराम गेलाल र नारायणी दंगालको नाम सिफारिस गरेको थियो भने प्रदेशसभातर्फ (क) मा हरिशरण लामिछाने र (ख) मा रोमन शिलाकारको नाम सर्वसम्मत् सिफारिस गरेको थियो । रासस