
पाँच वर्षअघि कांग्रेस छाडेर माओवादी प्रवेश गरी माओवादी केन्द्रको केन्द्रीय सल्लाहकारसमेत भइसकेका सम्बाहाम्फे मंगलबार साँझ पुनः कांग्रेसमै फर्किएका थिए ।
सम्बाहाम्फेलाई कांग्रेसले तेह्रथुमबाट प्रदेशसभा सदस्य ‘ख’ निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेदवार बनाएको हो ।
उनलाई कांग्रेसले तेह्रथुमको प्रदेशसभा ‘ख’ निर्वाचन क्षेत्रमा सर्वसम्मत् उम्मेदवार बनाइएको जिल्ला सभापति गोविन्द ढुंगानाले बताए ।
वाम गठबन्धनबाट असन्तुष्ट भएर कांग्रेसमा ‘कमब्याक’ भएका सम्बाहाम्फेलाई मंगलबार बालुवाटारमा एक कार्यक्रमकाबीच प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले स्वागत गरेका थिए ।
सम्बाहाम्फे हाल निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालको केन्द्रीय अध्यक्षसमेत छन् ।
तेह्रथुमको फेदाप गाउँपालिका–३ जलजले स्थायी घर भएका सम्बाहाम्फे गृहजिल्लामा माओवादी केन्द्रका प्रभावशाली नेता मानिन्थे ।
कांग्रेसमा रहँदा संविधानसभा–१ निर्वाचनमा पार्टीलाई जिताउन महत्वपूर्ण भूमिका खेलेका सम्बाहाम्फे पार्टी जिल्ला कार्यसमितिको तत्कालीन कोषाध्यक्ष थिए ।
उनी २०६४ मा भएको संविधानसभाको निर्वाचनको मुखैमा नेकपा माओवादीमा प्रवेश गरेका थिए ।
कांग्रेस कमब्याकपछि सम्बाहाम्फेले अब यो देशको विकास र समृद्धि लोकतान्त्रिक शक्तिहरुबाटमात्रै सम्भव रहेको प्रतिक्रिया दिए ।
सम्बाहाम्फे पुनः कांग्रेसमै फर्किएपछि कांग्रेस कायकर्ता उत्साहित बनेका छन् ।
तेह्रथुममा प्रतिनिधिसभातर्फ एक निर्वाचन क्षेत्र र प्रदेशसभामा दुईओटा निर्वाचन क्षेत्र रहेका छन् ।
जिल्लाबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य सीता गुरुङ र वाम–गठबन्धनको तर्फबाट निवर्तमान सांसद भवानीप्रसाद खापुङ उम्मेदवार बन्ने भएका छन् ।
जिल्लाकै लोकप्रिय महिला नेत्री गुरुङ हाल भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीसमेत हुन् । उनी यसअघिका दुईओटै संविधानसभा निर्वाचनमा तेह्रथुमबाट समानुपातिक सांसद थिइन् ।
एमालेबाट तेस्रोपटक उम्मेदवार बनेका खापुङ ०७० को संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ विजयी भएका थिए । खापुङ त्यसअघि ०६४ मा कांग्रेस नेता तुलसी सुब्बासँग पराजित भएका थिए ।
यसपटकको निर्वाचनमा भने राज्यमन्त्री गुरुङ र नेता खापुङबीचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।
यस्तै, प्रदेशसभा तर्फ ‘क’ निर्वाचन क्षेत्रमा कांग्रेसले जिल्ला सभापति गोविन्द ढुंगाना र वाम गठबन्धनले जिल्ला अध्यक्ष लक्ष्मण तिवारीलाई उम्मेदवार बनाउने भएका छन् ।
‘ख’ निर्वाचन क्षेत्रमा वाम गठबन्धनका तर्फबाट पूर्वजिल्ला अध्यक्ष तेजमान कन्दङवा उम्मेदवार बन्ने भएका छन् ।
प्रतिक्रिया दिनुहोस्