१३ श्रावण २०८२, मंगलबार | Tue Jul 29 2025


म्यानमारकी विदेशमन्त्री सुकी पहिलो पटक हिंसा प्रभावित राखिन राज्यमा


0
Shares

म्यानमारको उत्तरी राखिन राज्यमा गएको अगष्ट महिनादेखि हिंसा सुरु भएको थियो । हिंसाको कारण विशेषगरी सोही राज्यमा बसोबास गर्दै आएका म्यान्माली रोहिङ्गा मुस्लिम समुदायका नागरिक भाग्नुपरेको थियो ।

उक्त समुदायमाथि म्यानमार सैनिकले आक्रमण गर्दा उनीहरु भाग्नुपरेको थियो । उक्त समुदायले नै सशस्त्र समूह खडागरी यहाँका स्थानीय प्रहरी चौकीहरुमा आक्रमण गरेपछि सेनाले गरेको कारबाहीपछि उनीहरु भागेका सेनाको दाबी छ ।

म्यानमरको उत्तरी राखिन राज्यमा बसोबास गरिरहेका रोहिङ्गा समुदायका मुस्लिमआबद्ध सशस्त्र समूहले सोही क्षेत्रका प्रहरी चौकीमा गएको अगष्ट २५ मा हमला गरेपछि त्यहाँको सेनाले उक्त समुदायमाथि नै आक्रमण थालेको थियो ।

सोही कारण उनीहरु देश छोडेर भाग्न बाध्य भएका थिए । त्यस कारबाहीपछि उनीहरु छिमेकी देश बङ्गलादेश भागेका हुन् । साथै म्यानमारमै पनि हजारौँ रोहिङ्गा आन्तरिक शरणार्थीका रुपमा बसिरहेका छन् ।

यसरी देश छोडेर भागी बंगलादेश पुग्नेहरुको संख्या ६ लाख भन्दा पनि बढी पुगेको बताइएको छ । म्यानमार र बङ्गलादेशको सीमा क्षेत्रमा पर्ने नाफ नदी किनारमा उनीहरु बसिरहेका छन् ।

म्यानमारमा यहाँका अल्पसंख्यक मुस्लिम समुदाय रोहिङ्गा जातिका विरुद्धमा जारी रहेको भनिएको राजनीतिक हिंसाका कारण भागेर बंगलादेश पस्ने म्यान्मालीको संख्या प्रतिदिन बढ्दै गएको छ ।

सुकीको यो भ्रमण पूर्व निर्धारित तालिका होइन । विना कुनै सूचना बिहीबार बिहान उनी राखिनमा पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

नोवेल शान्ति पुरस्कार समेत प्राप्त गरेकी प्रजातन्त्रवादी नेत्री सुकी नै देशको शासन सत्तामा रहेका बेला यसरी नागरिकलाई सेनाले नै लखेटेर देश छोड्नुपर्ने बाध्यता भएको भन्दै उनको विश्वव्यापी रुपमा नै चर्को विरोध भएको थियो ।

विरोधका बाबजुत पनि उनले सरकारले नलखेटेको र उनीहरु आफै देश छोडेर भागिरेहेका भनी दिएको अभिव्यक्तिको पनि विरोध भएको थियो । त्यसयता उनी पहिलो पटक उक्त राज्यको भ्रमणका लागि गएको जनाइएको छ ।

अहिले पनि म्यानमारको सीमा क्षेत्रबाट बंगलादेश छिर्ने क्रम जारी छ । यता बङ्गलादेशमा पनि उनीहरुको अवस्था निकै कष्टकर रहेको समाचारहरु पनि आइरहेका छन् ।

यसरी बंगलादेश पुगेका म्यान्माली शरणार्थीमध्ये आधाभन्दा बढी बालबालिका रहेका बताइएको छ । शरणार्थी बालबालिकाको संख्या ३ लाख २० हजार छ ।

संयुक्त राष्ट्रसंघका प्रवक्ता फराह हकले हालै दिएको जानकारीअनुसार अहिले पनि म्यानमारको उत्तरी राखिन राज्यबाट भागेर बंगलादेश छिर्ने क्रम रोकिएको छैन । यी दुई देशको सीमा क्षेत्रमा रहेको नाफ नदी तरेर म्यान्मालीहरु बंगलादेश छिर्ने गरेका छन् ।

बंगलादेशका शरणार्थी शिवीरहरुमा उनीहरुको जीवन अत्यन्तै कष्टपूर्ण बन्दै गएको, धेरै ठूलो संख्याका शरणार्थी रहेकोले उनीहरुको खानपिन तथा अन्य कामका लागि पनि व्यवस्थापन गर्न अप्ठेरो भएको तथा दाता राष्ट्रहरु तथा संघसंस्थाहरुलाई पनि आग्रह गरिएको उनले बताए ।

तर सङ्कट समाधानका लागि पहलहरु भने निकै कम मात्रामा भएका बताइएको छ । दुवै देशका तर्फबाट यसमा कमै मात्र पहल गरेका छन् ।

त्यस क्षेत्रमा ती अल्पसंख्यक नागरिकमाथि हत्या, आतङ्क सिर्जना गरिएको, महिलालाई बलात्कार गरिएको तथा उनीहरुका घरबासहरुमा आगो लगाइएको भन्दै विश्वका अधिकारवादीहरुले पनि त्यसको छानबीनका लागि चासो व्यक्त गरेका छन् ।

साथै संयुक्त राष्ट्रसंघले नै यसलाई एक हिसाबले जातीय सफायाको रुपमा उनीहरुमाथि ज्यादति गरिएको बताएको छ । (रासस/एएफपी)