
पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि ३७ क्षेत्रमा हुने निर्वाचनमा नेपाली कांग्रेसबाट दुई र नेकपा माओवादी केन्द्रबाट एक गरी जम्मा तीन जनामात्रै महिला उम्मेदवार उठाएका थिए । तर दोस्रो चरणअन्तर्गत १२८ क्षेत्रमा हुने निर्वाचनमा प्रमुख तीन दलबाट १५ जना महिलाले उम्मेदवारी मनोनयन दर्ता गराउँदै चुनावी मैदानमा उत्रिएका छन् ।
दोस्रो चरणअन्तर्गत हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट सबैभन्दा बढी सात जना, नेकपा एमालेबाट पाँच र नेकपा माओवादी केन्द्रबाट तीन जना महिला उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
यसरी कांग्रेसबाट उम्मेदवारी दिनेमा तेह्रथुमबाट सीता गुरुङ, महोत्तरी–२ बाट किरण यादव, मकवानपुर– २ बाट महालक्ष्मी (डीना) उपाध्याय, काठमाडौं–३ बाट अम्बिका बस्नेत, दाङ–१ बाट सुशीला चौधरी, कैलाली– १ बाट ईश्वरीदेवी न्यौपाने र कैलाली–५ बाट डा आरजु राणा छन् ।
यसैगरी नेकपा एमालेले झापा–२ बाट पवित्रा खरेल, सुनसरी–३ बाट भगवती चौधरी, उदयपुर–१ बाट मञ्जु चौधरी, स्याङ्जा–२ बाट पद्माकुमारी अर्याल र कैलाली–१ बाट गरिमा शाहलाई उम्मेदवार बनाएको छ ।
यस्तै नेकपा माओवादी केन्द्रले ललितपुर– ३ बाट पम्फा भुसाल, पर्सा–४ बाट उर्मीला अर्याल र कञ्चनपुर–१ बाट बिना मगरलाई उम्मेदवार बनाएको छ ।
तीमध्ये कैलाली– १ मा महिला÷महिला उम्मेदवारबीच नै रोचक प्रतिस्पर्धा हुनेभएको छ । सो क्षेत्रमा कांग्रेसकातर्फबाट ईश्वरीदेवी न्यौपाने र वाम गठबन्धनकोतर्फबाट एमालेका गरिमा शाहले उम्मेदवारी दिएका छन् । यसअघि समानुपातिकबाट सांसद रहेका दुवै जनाले अहिले प्रत्यक्षबाट उम्मेदवारी दिएका हुन् ।
यस्तै केहीअघि राप्रपा छोडी नेकपा एमाले प्रवेश गरेकी गायिका तथा सञ्चारकर्मी कोमल ओलीले दाङ– ३ बाट तथा पूर्वसांसद सञ्जय साहकी पत्नी रंगीला साहले धनुषा–३ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
यसअघि पहिलो चरणअन्तर्गत प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा कांग्रेसले खोटाङबाट सरस्वती बजिमय र बागलुङ– १ बाट चम्पादेवी खड्का तथा माओवादीकी कमला रोक्का पूर्वी रुकुमबाट उम्मेदवारी दिएका थिए ।
समग्रमा प्रतिनिधि सभाको १६५ सिटका लागि प्रमुख तीन दलबाट पहिलो चरणमा तीन र दोस्रो चरणमा १५ गरी कुल १८ जना मात्रै महिला उम्मेदवारी परेको छ । जसमा सबैभन्दा बढी कांग्रेसबाट नौ जना र वाम गठबन्धनका एमालेका पाँच र माओवादी केन्द्रका चार जना गरी नौ जनाले उम्मेदवारी दिएका छन् ।
संविधानले संसदमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेकाले प्रत्यक्षतर्फ महिलाले टिकट कम पाएपछि अब सो संख्या समानुपातिकबाट क्षतिपूर्ति गर्नुपर्ने बाध्यता दललाई आउनेछ ।
निर्वाचन जित्नेमा महिला उम्मेदवार ढुक्क
ललितपुर–३ बाट उम्मेदवारी दिएकी माओवादी केन्द्रका प्रवक्तासमेत रहेकी पम्फा भुसालले आफ्नो जित निश्चित रहेको बताइन् ।
यसअघि पनि विसं २०६४ को संविधानसभा निर्वाचनमा आफूले सोही क्षेत्रबाट जितेको र यसपटक वाम गठबन्धन भएका कारण झनै जित सुनिश्चित रहेको उनको भनाइ छ ।
आफू सधैँ सो क्षेत्रको विकास निर्माण र जनताको सुख, दुःखमा साथ रहेकाले पनि आफू जित्नेमा ढुक्क रहेको उनले बताइन् ।
महिलाको हकअधिकारको आवाज बुलन्द गर्नुका साथै महिलाले पनि देशको नेतृत्व लिन सक्षम छन् भन्ने सन्देश दिनका लागिसमेत आफ्नो जित आवश्यक रहेकोमा उनले जोड दिइन् ।
मकवानपुर–२ बाट कांग्रेसको उम्मेदवार बनेकी कांग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय (डीना)ले आफ्नो उम्मेदवारीले मकवानपुरवासी र सो क्षेत्रका महिलामा उत्साह थपिएकाले आफ्नो जित सुनिश्चित रहेको बताइन् ।
आफू विसं २०४८ मा पनि सोही क्षेत्रबाट निर्वाचन लडिसकेको र केन्द्रीय तहमा रहेर राजनीति गरिरहेकाले सो क्षेत्रको विकासका लागि आफूप्रति सबैको आशा, भरोसा र सद्भाव रहेको उनको भनाइ छ ।
कैलाली–१ बाट उम्मेदवार बनेकी एमाले केन्द्रीय सदस्य गरिमा शाहले आफ्नो पार्टीले अघि सारेको आर्थिक समृद्धि र राष्ट्रिय एकताको एजेण्डा तथा वाम गठबन्धनका कारण आफ्नो जित सुनिश्चित रहेको धारणा व्यक्त गरिन् ।
आफूले यसअघि संविधानसभामा संविधान मस्यौदा लेखन समितिको सदस्यकारुपमा खेलेको भूमिका, कैलालीको विकासका लागि तथा ७ नं प्रदेशलाई पर्यटन क्षेत्रका रुपमा विकास गर्न खेलेको भूमिकाका कारण साझा व्यक्तित्वका रुपमा यो क्षेत्रमा आफूले पहिचान बनाइसकेको उनको भनाइ छ । (रासस)
प्रतिक्रिया दिनुहोस्