
मनोनयन दर्ता गर्न उम्मेदवारहरु बाजागाज तथा जुलुससहित निर्वाचन कार्यालय पुगेका थिए ।
उम्मेदवारी मनोनयन दर्ता गर्न जानेक्रममा मुख्यगरी ठूला दलहरुको तामझाम बढी देखिन्थ्यो ।
वाम गठबन्धन बनाएर चुनावी मैदानमा ओर्लिएका एमाले र माओवादी केन्द्रका उम्मेदवारहरु एकसाथ उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुगेका थिए ।
लोकतान्त्रिक गठबन्धन बनाउन प्रयास गरेपनि असफल भएको नेपाली कांग्रेसका उम्मेदवारहरु पनि एकैपटक तामझाका साथ उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।
नेपाली कांग्रेसका उम्मेदवारहरुले वाम गठबन्धनका उम्मेदवारभन्दा पहिले उम्मेदवारी मनोनयन गरे ।
नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर–१ मा उदयशमशेर राणा, २ मा चन्द्र मर्हजन र ३ मा मदनकुमार अमात्यले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर–१ को ‘क’मा रिसी घिमिरे, ‘ख’मा मीनकृष्ण महर्जन, क्षेत्र नम्बर–२ को ‘क’बाट पवनविक्रम थापा, ‘ख’मा प्रेमकृष्ण महर्जन र क्षेत्र नम्बर–३ को ‘क’मा नवराज महत र ‘ख’मा शिवराम बानियाँले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी दर्तापछि नेपाली कांग्रेसका उम्मेदवारहरुले संविधानको पूर्णकार्यान्वयन र मुलुकको आर्थिक विकास मुख्य एजेन्डा भएको बताए ।
नेपाली कांग्रेसका उम्मेदवारले मनोनयन दर्ता गरिसकेपछि चुनावी तालेमल गरेका एमाले र माओवादी केन्द्रका उम्मेदवारहरु पनि नारा–जुलुससहित निर्वाचन अधिकृतको कार्यालय पुगे ।
वाम गठबन्धनबाट प्रतिनिधिसभातर्फ ललितपुर क्षेत्र नम्बर–१ मा नेपाल प्रहरीका पूर्वडीआइजी नवराज सिलवाल, २ मा कृष्णलाल महर्जन र ३ मा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले उम्मेदवारी दिएका छन् ।
वाम गठबन्धनबाट प्रदेशसभातर्फ क्षेत्र नम्बर–१ को ‘क’मा सुशीला पुन, ‘ख’मा चेतनाथ सञ्जेल, क्षेत्र नम्बर–२ को ‘क’मा माधव पौडेल, ‘ख’मा ज्ञानेन्द्र शाक्य र क्षेत्र नम्बर–३ को ‘क’मा राजकाजी महर्जन र ‘ख’मा जीवन खड्काले उम्मेदवारी दिएका छन् ।
वाम गठबन्धनबाट आगामी निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुले सुशासन, स्थीर सरकार र मुलुकको आर्थिक विकासलाई नै मुख्य एजेन्डाकोरुपमा प्रस्तुत् गरेका छन् ।
यसैगरी राप्रपा, नयाँ शक्ति पार्टी नेपाल, विवेकशील साझा पार्टीलगायतका दलले पनि उम्मेदवारी दर्ता गरेका छन् ।
निर्वाचन अधिकृत विनोदकुमार भट्टराईले आगामी मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुरमा शान्तिपूर्णरुपले मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्