८ असार २०८२, आइतबार | Mon Jun 23 2025


देशैभर उल्लासपूर्ण उम्मेदवारी दर्ता, कुल १४०५ जनाको उम्मेदवारी पर्‍यो


0
Shares

आगामी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि तराई र पहाडका ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ क्षेत्रमा दल र स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय तोकेको थियो ।

आयोगले प्रतिनिधिसभातर्फ ५२२ र प्रदेशसभातर्फ ८८३ जनाले उम्मेदवारी दर्ता गराएको जनाएको छ । सबै निर्वाचन क्षेत्रमा गरेर जम्मा १४ सय पाँचजनाले उम्मेदवारी दर्ता गराएका निर्वाचन आयोगले जनाएको छ ।

मुख्य राजनीतिक दलका सबैजसो शीर्ष नेताहरुले आ–आफ्नो निर्वाचन कार्यालयमै पुगेर उम्मेदवारी दर्ता गराएका थिए ।

तर, नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भने वारेसनामामार्फत् डडेलधुरामा प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन–३ बाट, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी–२ बाट, राजपा नेपालका अध्यक्षमन्डलका संयोजक महन्थ ठाकुरले महोत्तरी–३ बाट, राप्रपाका अध्यक्ष कमल थापाले मकवानपुर–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभाका कुल १६५ मध्ये ३७ र प्रदेशसभाका ३३० निर्वाचन क्षेत्रमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन हुँदैछ । ती क्षेत्रका लागि गत कात्तिक ५ गते नै उम्मेदवारी दर्ता भएको थियो ।

पहिलो चरणमा उच्च हिमाली तथा पहाडि क्षेत्रमा निर्वाचन हुनेछ ।