८ असार २०८२, आइतबार | Mon Jun 23 2025


रुपन्देहीमा ‘भेट्रान’ भिडन्त (भिडियो)


0
Shares

रुपन्देहीमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका १५ सिटका लागि २५० भन्दा बढीले मनोनयन दर्ता गराएका छन् ।

प्रतिनिधिसभाका ५ र प्रदेशसभाका १० निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा प्रतिस्पर्धा गर्न उत्रिएकाहरु धेरैजसो पुरानै अनुहारका रहेका हुन् । पूर्वमन्त्री, पूर्वसांसद र पार्टीका प्रभावशाली नेताहरु नै मैदानमा उत्रिएका हुन् ।

प्रतिनिधिसभातर्फ रुपन्देही–३ बाट नेपाली कांग्रेसको समर्थनमा राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष एवं स्वास्थ्यमन्त्री दीपक बोहरा उम्मेदवार बनेका छन् । उनीविरुद्ध नेकपा एमालेका उपमहासचिव घनश्याम भुसाल माओवादीसँगको गठबन्धनबाट प्रतिस्पर्धामा उत्रिएका छन् ।

२०७० को संविधानसभा निर्वाचनमा भने भुसाल कांग्रेस नेता बालकृष्ण खाँणसँग पराजित भएका थिए ।

अघिल्लो पटक कांग्रेसका रामकृष्ण ताम्राकारलाई हराएका बोहरा यसपटक पनि आफ्नो जित सुनिश्चित हुने दाबी गर्छन् ।

भुसालले पनि आफू हार्ने कुनै आधार र कारण नभएको जिकिर गरे ।

रुपन्देही–१ मा कांग्रेस उम्मेदवार एवं खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुल रज्जाकसँग एमाले पोलिटब्युरो सदस्य छविलाल विश्वकर्मा प्रतिस्पर्धामा छन् ।

अघिल्लो चुनावमा पनि विश्वकर्मालाई नै पराजित गरेका रज्जाक जनताले यसपटक पनि आफ्नो दलको एजेन्डामा मत दिने दाबी गर्छन् ।

रुपन्देही निर्वाचन क्षेत्र नम्बर–२ मा भने एमालेका प्रभावशाली नेता तथा पूर्वमन्त्री विष्णु पौडेल बलियो दावेदार रहँदा उनीविरुद्ध कांग्रेसका युवराज गिरी प्रतिस्पर्धामा छन् ।

गत संविधानसभाको चुनावमा तत्कालीन ४ नम्बर क्षेत्रबाट उनले तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईलाई पराजित गरेका थिए ।

यसपटक पनि आफूलाई कसैले हराउन नसक्ने पौडेलले बताए ।

रुपन्देही–४ मा भने त्रिपक्षीय भिडन्त हुने देखिन्छ । यहाँ राजपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री सर्वेन्द्रनाथ शुक्ला, कांग्रेसका प्रमोद यादव र एमालेका ओमप्रकाश यादव गुल्जारीबीच प्रतिस्पर्धा हुने भएको हो ।

गुल्जारी केही दिनअघिमात्र राजपाबाट एमाले प्रवेश गरेर उम्मेदवार बनेका हुन् ।

रुपन्देही–५ मा भने कांग्रेस नेता एवं पूर्वमन्त्री भरतकुमार साहलाई सीधा टक्कर दिन वाम गठबन्धनले माओवादी केन्द्रका नेता डिलाराम आचार्यलाई अघि सारेको छ ।

समग्रमा रुपन्देहीमा लोकतान्त्रिक र वाम गठबन्धनकैबीचमा तीव्र प्रतिस्पर्धा हुने देखिन्छ ।

५ लाख २२ हजार ६०२ जना मतदाता रहेको रुपन्देहीमा २०८ मतदानस्थल र ५९८ मतदान केन्द्र तोकिएको छ ।

भिडियो हेर्नुहोस्