८ असार २०८२, आइतबार | Mon Jun 23 2025


सिरहामा सातजना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा


0
Shares

जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि पाँचजना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेशसभामा दुईजना पूर्वमन्त्री चुनावी दौडमा छन् ।

सिरहा क्षेत्र नम्बर–४ मा फोरम–राजपा गठबन्धनको तर्फबाट राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्षमन्डलका सदस्य तथा पूर्वमन्त्री राजकिशोर यादव र वाम गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री अजयशंकर नायकबीच तीव्र प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

उनीहरुसँगै सो क्षेत्रमा नेपाली कांग्रेसका नेता मोख्तार अहमद चुनावी मैदानमा उत्रिएका छन् ।

सिरहा क्षेत्र नम्बर–१ मा फोरम–राजपा गठबन्धनको तर्फबाट संघीय समाजवादी फोरम नेपालका नेता तथा पूर्वमन्त्री राजलाल यादव चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

उनीसँग नेपाली कांग्रेसका नेता प्रदीप गिरि र वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका नेता गंगाप्रसाद यादव प्रतिस्पर्धामा छन् ।

क्षेत्र नम्बर–२ मा फोरम–राजपा गठबन्धनका तर्फबाट फोरमका नेता तथा पूर्वपर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शत्रुघ्नप्रसाद सिंह महतोले चुनावी दौडमा सिट सुरक्षित गरेका छन् भने उनीसँगै वाम गठबन्धनका तर्फबाट पूर्वस्वास्थ्य सहायकमन्त्री सुरेशचन्द्र दास यादव र नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादव चुनावी प्रतिस्पर्धामा छन् ।

यस्तै, प्रदेशसभा निर्वाचनका लागि क्षेत्र नम्बर–२ (क) मा फोरम–राजपा गठबन्धनका तर्फबाट फोरमका नेता तथा पूर्वआपूर्तिमन्त्री विजयकुमार यादव चुनावी प्रतिस्पर्धामा छन् भने उनीसँगै वाम गठबन्धनका तर्फबाट माओवादीका जीवछ यादव र कांग्रेसका शैलेन्द्रकुमार यादव प्रतिस्पर्धामा छन् ।

क्षेत्र नम्बर–३ (क)मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता तथा पूर्वसामान्य प्रशासनमन्त्री रामकुमार यादव चुनावी दौडमा उत्रिएका छन् भने उनीसँगै कांग्रेसका मुस्ताक अन्सारी र फोरम–राजपा गठबन्धनका तर्फबाट फोरमका मनोजकुमार सिंह प्रतिस्पर्धामा छन् ।

पूर्वमन्त्रीहरु प्रतिस्पर्धामा उत्रिएपछि अहिले सिरहाको चुनाव सबैको चासोको विषय बनेको छ ।

प्रतिनिधिसभाका लागि ४ र प्रदेशसभाका लागि ८ क्षेत्र रहेको जिल्लामा तीन लाख ४४ हजार ३७० मतदाता रहेका छन् । जिल्लामा ४३६ मतदान केन्द्र तोकिएको छ । रासस