
दोस्रो चरणका ४५ जिल्लामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि बिहीबार प्रतिनिधिसभातर्फ १२६ र प्रदेशसभातर्फ २०९ गरी कुल ३३५ महिलाले उम्मेदवारी मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।
दोस्रो चरणमा ४५ जिल्लाका प्रतिनिधि सभातर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ निर्वाचन क्षेत्रका लागि बिहीबार उम्मेदवारी दर्ताको व्यवस्था गरिएको थियो ।
निर्वाचन आयोगकाअनुसार प्रतिनिधिसभातर्फ एक हजार ७४२ र प्रदेशसभातर्फ दुई हजार ९६६ गरी जम्मा चार हजार ७०८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघि, पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेश सभासदस्य निर्वाचनका लागि ४१ महिलाले उम्मेदवारी दिएका थिए । यही कात्तिक ५ गते भएको उम्मेदवारी मनोनयन दर्तामा प्रतिनिधिसभामा १८ र प्रदेशसभाका लागि २३ महिलाले उम्मेदवारी दिएका थिए ।
पहिलो चरणमा प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ ओटा निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्फको निर्वाचन हुँदैछ ।
जनसंख्याअनुसार महिलाको प्रतिनिधित्व कम भएको भन्दै अन्तर पार्टी महिला सञ्जालले संविधानको भावनाअनुसार आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने मागसहित दबाबमूलक कार्यक्रम गर्दै आएको छ ।
सञ्जालले स्थानीय तहमा न्यूनतम् ५० प्रतिशत, प्रदेशसभामा न्यूनतम् ४० प्रतिशत र प्रतिनिधिसभामा न्यूनतम् एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको सञ्जालका उपाध्यक्ष पुष्पा ठाकुरले जानकारी दिइन् । रासस
प्रतिक्रिया दिनुहोस्