८ असार २०८२, आइतबार | Mon Jun 23 2025


‘बागी’को बाढी, बागीले उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनी (भिडियो)


0
Shares

आकांक्षीहरुलाई चित्त बुझाउन नसक्दा ठूला पार्टीहरु बागी उम्मेवारीबाट सबैभन्दा बढी पीडित बनेका छन् ।

त्यसमाथि कतिपय वरिष्ठ नेताहरुविरुद्ध नै बागी उम्मेदवारी परेपछि निर्वाचन रोचनक हुने देखिएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नै पूर्वप्रतिद्वन्द्वी गोविन्दराज जोशीका कारण तनावमा परेका छन् । पौडेलविरुद्ध जोशीले प्रतिनिधिसभा सदस्यका लागि तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

कैलालीको ५ नम्बर क्षेत्रमा आरजु देउवाकोविरुद्धमा क्षितिज भण्डारीले उम्मेदवारी दिएका छन् ।

यस्तै, कन्चनपुरबाट उम्मेदवारी दर्ता गराएका कांग्रेस नेता रमेश लेखकविरुद्ध प्रेमकुमार विष्टले बागी उम्मेदवारी दिएका छन् ।

कांग्रेस नेता एनपी साउदविरुद्ध कैलालीको क्षेत्र नम्बर–२ मा कांग्रेस महासमिति सदस्य सिद्धराज भट्टको उम्मेदवारी परेको छ ।

सुनसरी क्षेत्र नम्बर–१ को प्रदेशसभातर्फ कांग्रेस उम्मेदवार किशोर राईविरुद्ध मदन ढकालले उम्मेदवारी दिएका छन् ।

कांग्रेसमामात्रै होइन, वाम गठबन्धनमा पनि बागीको ताँती छ । नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध एलपी श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

एमाले उपाध्यक्ष वामदेव गौतमविरुद्ध बर्दिया–१ मा खड्गबहादुर खड्काले बागी उम्मेदवारी दिएका छन् ।

सिन्धुली–२ मा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलविरुद्ध माओवादी केन्द्रकै केन्द्रीय सदस्य रामकुमार पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

मोरङ निर्वाचन क्षेत्र नम्बर–३ मा एमाले उम्मेदवार भानुभक्त ढकालविरुद्ध भेषनाथ रिजालले मनोनयन दर्ता गराएका छन् ।

सल्यानमा वाम गठबन्धनका सबै उम्मेदवारविरुद्ध बागी परेपछि गठबन्धन नै धरापमा पर्ने देखिएको छ ।

माओवादीको भागमा परेको एउटा प्रतिनिधिसभा र एमालेको भागमा परेका दुईओटै प्रदेशसभा सदस्यविरुद्ध माओवादीका संस्थापक नेताहरुले नै बागी उम्मेदवारी दर्ता गराएका हुन् ।

एमाले नेता प्रकाश ज्वालाविरुद्ध माओवादीका पूर्वकमान्डर जीतबहादुर पुनले उम्मेदवारी दिएका छन् ।

पाल्पा, नवलपरासी, रुपन्देही, पर्वत, दैलेख, बाँके, अछाम, कन्चनपुर, प्यूूठान, कैलालीमा कांग्रेसका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ ।

कांग्रेसका प्रचार विभाग प्रमुख बालकृष्ण खाँणले १५ जिल्लामा प्रतिनिधि एवं प्रदेशतर्फ बागी उम्मेदवारी परेको बताए ।

यस्तै, एमालेमा पनि काठमाडौंसहित अन्य क्षेत्रमा बागी उम्मेदवारी परेको एमालेले जनाएको छ ।

दुवै दलले बागी उठेकालाई उम्मेदवार फिर्ता गरी पार्टीले खटाएको उम्मेदवारलाई सघाउन आग्रह गरेका छन् ।

बागी उम्मेदवार फिर्ता नगरे उम्मेदवारसहित प्रस्तावक, समर्थकलाई पार्टीबाट निष्काशन गर्ने कांग्रेस नेता खाँण एवं एमाले नेता कृष्णगोपाल श्रेष्ठले बताए ।

बागी उठेकाहरुले फिर्ता लिए पार्टी वा अन्य कुनै स्थानमा सहयोग गर्ने आश्वासन पार्टीले दिएका छन् ।

कांग्रेस एवं वाम गठबन्धनमामात्रै होइन, मधेसकेन्द्रित दलहरुमा पनि बागीको बिगबिगी रहेको छ ।

सप्तरी–२ बाट राजपा नेपालको सहयोगमा उम्मेदवारी दिएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध राजपाकै जयप्रकाश थारुले उम्मेदवारी दिएका छन् ।

यस्तै, महन्थ ठाकुरविरुद्ध चन्द्रेश्वर झाले उम्मेदवारी दिएका छन् । कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनी संविधानसभा सदस्यमा विजयी झाले राजपा अध्यक्षमन्डलका संयोजक ठाकुरविरुद्ध बागी उम्मेदवारी दिएका हुन् ।

यस्तै, बारा क्षेत्र नम्बर–३ मा एमालेका भरत खड्काले माओवादी उम्मेदवार ज्वालकुमारी साहविरुद्ध बागी उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी फिर्ता गर्ने र दाबी–विरोध गर्ने समय शनिबारसम्म रहेको छ ।

भिडियो हेर्नुहोस्