Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


नुवाकोटमा प्रभावशाली नेताहरुको दौडधुप, चुनावी माहोल रोचक बन्दै (भिडियो)


0
Shares

नुवाकोटबाट नेपाली कांग्रेस र वामगठबन्धनका प्रभावशाली नेताहरुले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी पञ्चायतकालदेखि राजनीतिमा सक्रिय रहेकादेखि भर्खरै राजनीतिक यात्रा सुरु गरेकाहरु पनि नुवाकोटबाटै भिड्दै छन् । यसले पनि यहाँको चुनावी माहोल निकै रोचक देखिएको हो ।

प्रतिनिधिसभाका लागि दुई वटा क्षेत्र रहेको नुवाकोटमा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महत प्रतिस्पर्धामा छन् ।

उनले यो क्षेत्रमा पाँचौ पटक उम्मेदवारी दिएका हुन् । डा.महतलाई वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङले चुनौती दिइरहेका छन् ।

त्यस्तै, प्रतिनिधिसभाको क्षेत्र नं. २ मा कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसी प्रतिस्पर्धामा उत्रिएका छन् ।

उनलाई वाम गठबन्धनका तर्फबाट एमालेका जिल्ला अध्यक्ष नारायणप्रसाद खतिवडाले चुनौती दिएका छन् ।

प्रदेश सभा अन्तर्गत क्षेत्र नं. १ को क मा माओवादी केन्द्रका राधिका तामाङ र कांग्रेसका महेन्द्र थिङ भिड्दै छन् ।

क्षेत्र नं. १ कै ख मा बाम गठबन्धनका तर्फबाट एमालेका बद्री मैनाली र कांग्रेसका रमेशकुमार महतको उम्मेदवारी परेको छ ।

प्रदेश सभाका लागि निर्वाचन क्षेत्र नं. २ को क मा बाम गठबन्धनबाट एमालेका केशव पाण्डे र काँग्रेसका जगदीश्वरनरसिंह केसी तथा ख मा बाम गठबन्धनबाट माओवादी केन्द्रमा हिरानाथ खतिवडा र कांग्रेसका जगतबहादुर तामाङको उम्मेदवारी परेको छ ।

नेकपा एमाले र माओवादी केन्द्रको चुनावी तालमेलका कारण कांग्रेसमा राष्ट्रिय छवि बनाएका दुई नेतालाई चुनावमा सकस परेकोे छ ।

कांग्रेसले आफ्ना पार्टीबाट बागी उम्मेदवारी दिएकालाई फकाउनेदेखि अन्य साना दलको समर्थन जुटाउने प्रयास गरिरहेको छ । अहिलेसम्म कांग्रेसले राप्रपा, राप्रजा प्रजातान्त्रिक र नयाँ शक्तिको समर्थन प्राप्त गरेको छ ।

दोस्रो संविधानसभा निर्वाचनमा तीन वटा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा सबै क्षेत्र कांग्रेसले जितेको थियो ।

तर गत स्थानीय तहको निर्वाचनको मत हेर्दा नेपाली कांग्रेसको भन्दा वाम गठबन्धनको मत दुवै क्षेत्रमा १०/१० हजारभन्दा बढी देखिएको छ ।

यसले पनि आगामी निर्वाचनमा वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारबीच निकै तिव्र र कसिलो प्रतिस्पर्धा हुने मतदाताको अनुमान छ ।

गत वैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा नुवाकोटमा १ लाख ८५ हजार ७ सय ८२ जना मतदाता रहेको अहिले बढेर २ लाख ८ हजार १ सय ९१ जना पुगेका छन् ।

बढेका मतदाताको मत पनि नुवाकोटका लागि निर्णायक हुनसक्ने कतिपयको विश्लेषण छ ।