२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


सुगाले ‘चपायोे’ लाखौं डलरको ‘ब्रोडब्यान्ड केबल’, कम्पनी हैरान


0
Shares

नेशनल ब्रोडब्यान्ड नेटवर्क (एनबीएन) कम्पनीले इन्टरनेट वितरणको लागि टांगिएको ब्रोडब्यान्ड केबल कोकोटोस प्रजातिको सुगाले चपाउन थालेपछि हजारौं डलर खर्च भएको बताएको छ ।

एनबीएनले कोकोटोसले चपाएको आफ्नो इन्टरनेट केबल मर्मत गर्न अहिलेसम्म करिव ८० हजार अष्ट्रेलियन डलर खर्च भैसकेको उल्लेख गरेको छ । एनबीएनका इन्जिनियरहरुले मर्मत गरेको केबल पुन सुगाले चपाउन थालेपछि उनीहरुले पशुपंक्षीको व्यवहार अध्ययन गर्ने टोलि बोलाएका थिए ।

पशुपंक्षीको व्यवहार अध्ययन गर्ने टोलिका प्रमुख गिसेला कैल्पनका अनुसार सामान्यतया यस प्रजातिको सुगाले केबल चपाउदैनन्, तर, ती सुगाहरुले केबलमा कुनै स्वाद फेला पारे वा केबलका रङले आकर्षित गरेको हुनसक्छ । गिसेलाले भनिन्, ‘कोकोटोस प्रजातिका सुगाको ठुँड निकै चुच्चो हुन्छ, ठुँड चुच्चो बनाउन सुगाहरु सँधै केहि न केहि चपाइरहन्छन् तर यति महंगो केबल नै चपाउनु दुर्भाग्य हो ।’

मर्मत गरेको केबलहरु सुगाले पुन चपाउन थालेपछि कम्पनीले केबलमाथि एक रक्षात्मक तार लगाउने योजना बनाएको उल्लेख गरेको छ । तर, निकै खर्चिलो पर्ने उक्त योजनाअन्तर्गत एउटा केबलमा करिव १४ अष्ट्रेलियन डलर पर्नेछ ।

कम्पनीले आफ्नो कुल तीन विलियन अष्ट्रेलियन डलर बराबरको सम्पत्ति बचाउन उक्त योजना लागु गर्नसक्ने ‘बीबीसी’ले उल्लेख गरेको छ ।

अमेरिकी तथा यूरोपेली देशहरुको तुलनामा अष्ट्रेलियामा इन्टरनेट स्पिड निकै कमजोर रहेको त्यहाँका नागरिकहरुले आलोचना गर्दै आएका छन् । करिव ११.१ मेगाबाइट इन्टरनेट स्पिड रहेको अष्ट्रेलिया विश्वभरमा ५० औं स्थानमा रहेको छ । कमजोर इन्टरनेट प्रणाली सुधार्न सन् २०२१ सम्ममा प्रयोगमा ल्याउने गरी सरकारले टेलिकम्युनिकेशन संरचना निर्माण सुरु गरेको छ । एजेन्सी