
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगमा दर्ता भएका ८८ दलमध्ये समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्यका लागि ४९ दलले उम्मदेवारी दिएका छन् ।
त्यसैगरी, प्रदेशसभा सदस्यसमेतका लागि बन्दसूची बुझाउने दलको संख्या ५३ रहेको छ ।
आयोगले सार्वजनिक गरेको समानुपातिकको बन्दसूचीमा ठूला दलका चर्चित नेतासमेत परेका छन् ।
नेपाली कांग्रेसका कोषाध्यक्ष एवं पूर्वमन्त्री सीतादेवी यादव मधेसी ‘क्लस्टर’बाट समानुपातिक सूचीको प्राथमिकतामा परेकी छन् ।
यस्तै, पूर्वशिक्षामन्त्री एवं कांग्रेसकी पूर्वकोषाध्यक्ष चित्रलेखा यादव पनि सोही क्लस्टरबाट समानुपातिकको सूचीमा छिन् ।
यस्तै, पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला र पूर्वरक्षामन्त्री बालकृष्ण खाँण, कांग्रेसका पूर्वपार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडू, महिला नेत्रीहरु पुष्पा भुसाल र डिला संग्रौला खसआर्य क्लस्टरबाट समानुपातिकको सूचीमा छन् ।
शैक्षिक व्यवसायी उमेश श्रेष्ठ र निर्माण व्यवसायी जिपछिरिङ लामा आदिवासी जनजाति क्लस्टरबाट कांग्रेसको समानुपातिकको सूचीमा छन् ।
यस्तै, बहालवाला मन्त्री मीनबहादुर विश्वकर्मा दलित क्लस्टरबाट कांग्रेसको समानुपातिक सूचीमा पर्दा चर्चित व्यापारी विनोद चौधरी मधेसी कोटाबाट कांग्रेसको समानुपातिक सूचीमा परेका छन् ।
पूर्वमन्त्री पद्मनारायण चौधरी थारु कोटाबाट कांग्रेसको समानुपातिक सूचीमा परेका छन् ।
यस्तै, नेकपा एमालेको समानुपातिक सूचीमा युवा नेत्री रामकुमारी झाँक्री, विद्यार्थी नेत्री नवीना लामा आदिवासी जनजातिको कोटाबाट समानुपातिकको सूचीमा परेका छन् ।
एमाले स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दिनेशचन्द्र देवकोटा, पूर्वमन्त्री राधा ज्ञवाली, युवा नेत्री निरुदेवी पाल र दिलु पन्त पनि खसआर्य कोटाबाट समानुपातिक सूचीमा छन् ।
यस्तै, तत्कालीन राष्ट्रियसभाका उपाध्यक्ष रामप्रित पासवान दलित कोटाबाट र उद्योगी–व्यवसायी मोतीलाल दुगड मधेसी कोटाबाट र नेता विजय सुब्बा आदिवासी जनजातिको कोटाबाट एमालेको समानुपातिक सूचीमा परेका छन् ।
माओवादी केन्द्रले निर्तमान सभामुख ओनसरी घर्ती, महिला नेत्री जयपुरी घर्ती, ल्यारक्याल लामा र पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानलाई आदिवासी जनजातिको कोटाबाट समानुपातिकको सूचीमा राखेको छ ।
यस्तै, पहिलो संविधानसभाका उपाध्यक्ष पूर्णकुमारी सुवेदी, पूर्वमन्त्री हितराज पाण्डे, माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मणि थापा खसआर्य कोटाबाट समानुपातिक सूचीमा छन् ।
यस्तै, पूर्वसभासदहरु धर्मशीला चापागाइँ, देवी खड्का खसआर्य कोटाबाट समानुपातिकमा परेका छन् ।
राप्रपाले भने पूर्वमन्त्री बुद्धिमान तामाङलाई आदिवासी जनजाति, पूर्वमन्त्री जयन्त चन्द, बहालवाला मन्त्रीद्वय दिलनाथ गिरी र कुन्तीकुमारी शाहीलाई खसआर्य कोटाबाट समानुपातिकको सूचीमा समावेश गरेको छ ।
यस्तै, नयाँ शक्ति पार्टी नेपालले नेपालले अभिनेत्री करिश्मा मानन्धर, राप्रपा प्रजातान्त्रिकले ध्रुवबहादुर प्रधानलाई आदिवासी र केशरबहादुर विष्टलाई खसआर्य कोटाबाट समानुपातिकको सूचीमा राखेको छ ।
यस्तै, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी र नेकपा मालेका महासचिव सीपी मैनाली पनि समानुपातिकको सूचीमा छन् ।
प्रतिनिधिसभातर्फ ११० जना सांसद समानुपातिक प्रणालीबाट छानिनेछन् भने प्रदेशसभातर्फ २२० जना चुनिनेछन् ।
समानुपातिकतर्फको अन्तिम सूची भने आगामी मंसिर ३ गते सार्वजनिक गरिनेछ ।
प्रतिक्रिया दिनुहोस्