२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


क्युबाको आम निर्वाचनमा २७ हजार उम्मेदवार, ३५.४ प्रतिशत महिला


0
Shares

आउदो नोभेम्बर २६ तारिखका दिन हुने निर्वाचनका लागि २७ हजार २२१ जनाले उम्मेदवारी दर्ता गराएको राष्ट्रिय निर्वाचन आयोग क्युबाले शुक्रबार जनाएको छ ।

आयोगले जारी गरेको वक्तव्यअनुसार कुल उम्मेदवारहरु मध्ये ३५.४ प्रतिशत उम्मेदवारहरु महिला रहेका छन् ।

त्यसैगरी, झन्डै ६६.४४ प्रतिशत उम्मेदवारहरु दोहोर्‍याएर चुनावी मैदानमा उत्रिएको पनि आयोगले जनाएको छ । क्युबामा उम्मेदवारहरुलाई कुनै एउटा राजनीतिक पार्टीको उम्मेदवारको रुपमा प्रचार गर्न नपाइने व्यवस्था रहेको छ ।

आफ्नो फोटो र जीवनीको प्रचार गरेर उम्मेदवारहरुले मतदातासँग मत माग्न पाउने छन् भने मतदाताले पनि त्यसैका आधारमा उम्मेदवारको छनौट गर्नेछन् । यी नै उम्मेदवारहरु मध्येबाट नै १५ प्रदेशसभाका लागि र उम्मेदवारहरु मध्ये आधा राष्ट्रिय सभाका लागि छनौट हुनेछन् ।

क्युबामा नगरपालिकास्तरको निर्वाचन हरेक साढे दुई वर्षमा हुने गरेको छ भने प्रदेशसभा र राष्ट्रियसभाका लागि पाँच पाँच वर्षमा मात्रै निर्वाचन हुने गरेको छ ।

अहिलेका राष्ट्रपति राहुल क्याष्ट्रोको पाँच वर्षे दोस्रो कार्यकाल आगामी सन् २०१८ को फेब्रुअरीमा सकिनेछ । (रासस/सिन्ह्वा)