Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


बाँदरमुढे घटना सशस्त्रद्वन्द्वको सबैभन्दा ठूलो गल्ती : दाहाल


0
Shares

दिवाकर–तीर्थकुमार भुसाल स्मृति खुला भलिबल प्रतियोगिताको शनिबार माडीमा उद्घाटन गर्दै उनले घटनाका दोषीलाई कारबाही गर्न त्यतिबेलै आफूले निर्देशन गरेर कारबाही गरिएको बताए ।

बाँदरमुढे घटनाबाट माओवादी निकै आलोचित बनेको माडीसहितको क्षेत्र समेटिएको चितवन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्तापछि माडी पुगेका अध्यक्ष दाहालले अब बन्ने सरकारले बाँदरमुढे पीडितलाई सम्बोधन गर्ने बताए ।

उनले आफ्नो पूर्णकालीन राजनीति माडीबाटै सुरु गरेका थिए । घटनापछि दोस्रोपटक उनी माडी पुगेका हुन् ।

यसअघि, २०६९ साल फागुन १७ गते माडी महोत्सव उद्घाटन गर्न उनी त्यहाँ पुगेका थिए । त्यतिबेला पीडितका लागि रु ६० लाखको एकमुस्ट राहत घोषणा गरेका थिए ।

दाहालले सो रकम जिल्लामा निकासा भएपनि सरकार परिवर्तनका कारण पीडितसमक्ष पुग्न नसकेको जनाउँदै अब बन्ने सरकारले पीडितलाई यथोचित सम्बोधन गर्ने बताए ।

‘सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले दोषी ठहर गरे जो–कोही पनि कारबाहीको भागीदार हुनेछन्’ भन्दै उनले दुई आयोगको ऐन संशोधन प्रक्रियाका कारण काम हुन नसकेको बताए ।

वि.सं. २०६२ जेठ २३ गते माडीको बाँदरमुढे खोलामा सर्वसाधारण र नेपाली सेना चढेको बसमा माओवादीले एम्बुस विस्फोट गराउँदा ३८ जनाको मृत्यु भएको थियो भने ७२ जना घाइते भएका थिए ।

उक्त घटनाका घाइते अहिले पनि कतिपय उपचाररत् छन् भने कतिपय अपांग अवस्थामा छन् । उक्त घटनापछि राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा माओवादीको चर्काे आलोचना भएको थियो ।

माडीवासी निकुञ्जका कारण बढी समस्यामा रहेको भन्दै उनले निकुञ्ज हुँदै आवत–जावतका लागि सुरुङमार्ग वा आकाशेपुलमार्फत् सडक निर्माण गरी समस्याको समाधान गरिने बताए ।

आगामी पाँच वर्षभित्र अब बन्ने सरकारले सो समस्याको समाधान गर्ने उनले बताए ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्रप्रसाद पाण्डेले देशको वामपन्थी आन्दोलनलाई अगाडि बढाउनसक्ने नेतृत्वबाट अब विकास हुने बताए ।

वाम एकतासँगै अब बन्ने सरकार स्थायी हुने र त्यसले मुलुकलाई समृद्धितर्फ लैजाने उनको भनाइ थियो ।

कार्यक्रममा माओवादी केन्द्रका नेता अमिक शेरचन, एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल, आजमात्रै राप्रपा प्रजातान्त्रिक चितवनका अध्यक्ष छाडेर माओवादी प्रवेश गरेका बद्री तिमिल्सिनालगायतले बोलेका थिए ।

सो अवसरमा तिमिल्सिनासँगै राप्रपा प्रजातान्त्रिकका ३१ कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए । रासस