
नारायणी लामिछाने/प्रदीप तामाङ (इमेज)
काठमाडौं, असार १६ । आँखादानबारे चेतना वृद्धि भएसँगै पछिल्लो समयमा मुलुकमा आँखादान गर्नेहरुको संख्या बढ्दै गएको छ ।
कुनैपनि व्यक्तिले आँखादान गरेपछि मृत्युपछि ती व्यक्तिको आँखाको नानी निकालेर अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ ।
आँखा मानव जीवनको सबैभन्दा महत्वपूर्ण र संवेदनशील अंग हो । कुनै पनि व्यक्तिको आँखा स्वस्थ हुनसक्यो भने मृत्युपछि पनि सोही आँखा अर्को व्यक्तिलाई प्रत्यारोपण गर्न सकिन्छ ।
झट्ट हेर्दा आँखाको डल्लोभित्र देखिने कालो सिसाजस्तो पारदर्र्शी भागलाई नै आँखाको नानी भनिन्छ । आँखा प्रत्यारोपण गर्दा मानिसको मृत्यु भएको ६ घन्टाभित्र विशेषज्ञद्वारा आँखाको परीक्षण गरी झिल्ली निकालिन्छ ।
यसरी निकालिसकेको झिल्लीलाई २ देखि ८ डिग्री सेन्टिग्रेडको तापक्रममा राखिन्छ । सो आखाँलाई दुई हप्ताभित्र आवश्यक व्यक्तिलाई प्रत्यारोपण गरिन्छ । यसैलाई आँखाको प्रत्यारोपण भनिन्छ ।
नेपालका तिलगंगा आँखा अस्पताल, वीर, पाटनलगायतका अस्पतालले आँखा प्रत्यारोपण गर्दै आएका छन् ।
तिलगंगा आँखा अस्पतालले त आँखा बैंक नै स्थापना गरेको छ । नेपालमा गत वर्षमात्रै ८६१ जनाले आँखादान गरेका थिए ।
सुरुका दिनमा विदेशबाट आँखा झिकाएर प्रत्यारोपण सुरु गरेको आँखा बैंकले पछिल्लो समयमा नेपालमै आँखादानसम्बन्धी जनचेतना अभिवृद्धि गराउँदै आँखा संकलन गर्ने गरेको छ ।
सन् १९९४ सेप्टेम्बर १६ बाट नेपालमा आँखा प्रत्यारोपण सुरु भएको हो । परामर्श र चेतनाको वृद्धिले अहिले ८० हजारजनाले आँखादान गर्न इच्छाएको आँखा बैंकका प्रमुख शंखनारायण त्वयनाको भनाइ छ ।
आँखा गुमाएका व्यक्तिले पुनः आँखा प्रत्यारोपण गर्न धेरै समय पर्खनुपर्ने अवस्थाको अन्त्य भएको उनको भनाइ छ ।
काठमाडौंका तिलगंगा आँखा अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, वीर अस्पतालका साथै आर्यघाट र पशुपतिको शवदाहगृहबाट आँखाको नानी संकलन गरिँदै आएको छ ।
केही वर्षअघिसम्म आँखादानबारे विभिन्न भ्रम र अन्धविश्वास रहँदै आएको भएपनि परामर्शदाताहरु परिचालन गरेर त्यस्तो भ्रमण हटाउँदै गएपछि यसप्रति मानिसको चाहना बढ्दै गएको छ ।
नेपालमा प्रत्येक वर्ष ८ हजार आँखाको नानीको माग हुने गरेको छ । तर, त्यसको तुलनामा संकलन भने एक हजार पनि नाघेको छैन ।
तिलगंगा आँखा प्रतिष्ठानले यस वर्षदेखि एक हजार आँखाको नानी संकलन गर्ने लक्ष्य राखेको छ ।
प्रतिक्रिया दिनुहोस्