
आयोग परिसरमा सन्चालित क्षेत्रीय निर्वाचन अधिकारी तथा जिल्ला निर्वाचन अधिकारीसहित आयोगका अधिकृत सम्मिलित प्रशिक्षण कार्यक्रम समापन समारोहमा उनले निर्वाचन व्यवस्थापन चुनौतीपूर्ण र कठिन भएपनि मतदान र मतगणनाको संवेदनशीलतालाई बुझेर स्वतन्त्र र निष्पक्ष भएर काम गर्न प्रशिक्षणमा सहभागीलाई निर्देशन दिएका हुन् ।
सो अवसरमा निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनको प्रभावकारी अनुगमन गरिरहे पनि कहीँ–कतै आचारसंहिता उल्लंघनका घटना हुनसक्नेतर्फ जिल्ला निर्वाचन कार्यालयलाई पनि चनाखो भएर काम गर्न निर्देशन दिए ।
आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले आगामी मंसिर १० र २१ लाई लक्ष्य गरेर निर्वाचनका सबै विषयलाई सार्थक हुने गरी परिचालित हुन आवश्यक रहेको बताए ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैपटक सन्चालन हुने र मतदाताले तीन मतपत्रमा चार ठाउँमा मतसंकेत गरी बेग्लाबेग्लै तीन मतपेटिकामा मतपत्र खसाल्नुपर्ने भनी सबै मतदातालाई छर्लंग बुझाउने गरी मतदाता शिक्षा अघि बढाउन आयोग लागेको जनाइएको छ ।
आयोगले निर्वाचनलाई व्यवस्थित र सहज तरिकाबाट सन्चालन गर्न सहयोग पुर्याउने उद्देश्यले मतदान तथा मतगणना विषयको मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सन्चालन गरेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्