ती पार्टीले तयार पारेको आगामी प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको घोषणापत्रमा रेलमार्ग निर्माणको कामलाई प्रभावकारीरुपमा अगाडि बढाउने र यातायातको सुगमतालाई विशेष जोड दिने उल्लेख छ ।
वाम गठबन्धनले रेलमार्गबाट चीन र भारत जोड्ने र नेपालको आर्थिक समृद्धिको लक्ष्यलाई एकाध वर्षमा प्राप्त गर्ने उल्लेख गरेका छन् ।
चीन सरकारले अगाडि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणामा केरुङ–रसुवागढी–काठमाडौं, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग समेट्न पूर्ववर्ती सरकारले चीनलाई आग्रह गरिसकेको छ ।
नेपालको दीर्घकालीन हितका लागि रेलमार्ग नै उत्तम र प्रभावकारी विकल्प रहेकाले नेपालले त्यसमा ध्यान दिने सरकारको तयारी रहेको सन्दर्भमा गठबन्धनले घोषणापत्रमा उक्त विषयलाई प्राथमिकताका साथ समेटेको हो ।
यस्तै, पूर्वपश्चिम विद्युतीय रेलमार्ग, काठमाडौंमा मोनोरेल तथा हाल तराईका विभिन्न स्थानमा निर्माणाधीन रेलमार्गको क्षमता अभिवृद्धि गर्ने कार्यलाईसमेत वामपन्थी गठबन्धनको सरकार निर्माण भएपछि प्राथमिकतामा राखिने घोषणापत्रमा समावेश छ ।
एमाले र माओवादी केन्द्रले तयार पारेको संयुक्त घोषणापत्रमा पाँच वर्षभित्र रसुवागढी–काठमाडौं, काठमाडौं–पोखरा, काठमाडौं–वीरगन्ज रेलमार्ग, पूर्वपश्चिम रेलमार्ग र मध्यपहाडी लोकमार्गमा तीव्रगतिको विद्युतीय रेलमार्ग निर्माण गर्ने उल्लेख छ ।
घोषणापत्रमा वामपन्थी नेतृत्वको सरकार निर्माण भएपछि पूर्वपश्चिम राजमार्ग, पूर्वपश्चिम औद्योगिक करिडोर राजमार्ग र मध्यपहाडी लोकमार्गका समानान्तर हुने गरी तीव्रगतिको विद्युतीय रेलमार्ग सन्चालन गर्ने अवधारणासमेत समेटिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, रेल विभागलाई साधन–स्रोतसम्पन्न बनाइने र रेल यातायातलाई रणनीतिक योजनाका साथ कार्यान्वयनका लैजाने लक्ष्य घोषणापत्रमा उल्लेख छ ।
यातायात व्यवस्था मन्त्रालयकाअनुसार हाल पूर्वपश्चिम रेलमार्ग निर्माणको काम भइरहेको छ । सो रेलमार्गको कुल लम्बाई ९४५ किमि छ ।
व्यवस्थापिका–संसद, विकास समितिका तत्कालीन सभापति रवीन्द्र अधिकारीले रेलमार्ग निर्माणका विषयमा सरकारलाई नीतिगतरुपमासमेत निर्देशन दिएका थिए ।
उक्त निर्देशनमा रेलसेवाका लागि नीतिगत प्रष्टता, लगानीको स्वरुप तथा अध्ययन र अनुसन्धानमा बजेट व्यवस्था गर्न र प्राविधिक जनशक्ति तयार पार्न सरकारले तदारुकता देखाउनुपर्ने उल्लेख छ ।
लामो समय सन्चालनमा रहेको जनकपुर–जयनगर रेलसेवा बन्द अवस्थामा छ । सो रेलसेवालाई पुनः सन्चालनको प्रयास भइरहेको छ ।
घोषणापत्रमा पुष्पलाल मध्यपहाडी लोकमार्गको समानान्तररुपमासमेत रेलमार्ग निर्माण गर्ने विषय समेटिएको छ । सो लोकमार्गको लम्बाई एक हजार ७७६ किमी छ ।
विभिन्न घुम्ती तथा मोडका कारण लोकमार्गको दूरी लामो हुने भएपनि रेलमार्ग सोझो र सरल रेखामा हुने भएकाले एक हजार ३०० किमिको हाराहारीमामात्रै हुने बताइन्छ ।
रेल विभागकाअनुसार चीन सरकारले निर्माण अगाडि बढाउने भनिएको रसुवागढी–काठमाडौं–वीरगन्ज विद्युतीय रेलमार्गको लम्बाई करिब २५० किमि आसपासको हुनेछ ।
त्यस्तै, गठबन्धनले घोषणापत्रमा आगामी पाँच वर्षभित्र राजधानी काठमाडौंको चक्रपथमा अत्याधुनिक प्रविधिका मेट्रो र मोनोरेल सन्चालन गरेर सार्वजनिक यातायात सेवालाई सहज र सरल बनाउने लक्ष्य राखेको छ ।
समृद्ध नेपालको परिकल्पनालाई साकार रुप दिने लक्ष्यका साथ रेलसेवालाई प्रमुख प्राथमिकतामा राखिएको गठबन्धनको घोषणापत्रमा उल्लेख छ ।





प्रतिक्रिया दिनुहोस्