Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


अलैंचीमा देखिएको छिर्केफुर्के रोगबारे अनुसन्धान शुरु


0
Shares

फिदिम नगरपालिका–१ साब्राङ र फिदिमकै नाम्दु ढोडेनीमा अनुसन्धान थालिएको हो । किसान महासंघ पाँचथरको अगुवाईमा एग्री केयर प्रालि नेपालमा आबद्ध कृषि वैज्ञानिक शिव यान्दियो नेतृत्वको टोलीले साब्राङका टंक अधिकारी र नाम्दु ढोडेनीका जगत मगरले लगाएको अलैंची बगानमा अनुसन्धान शुरु गरेको हो ।

टोलीले संक्रमित अलैंचीको जरामा बायोसाइट ट्रिभी नामक जैविक विषादीमा चिनी मिसाएर राखेको छ । अब तीन महिनापछि प्रयोगशालामा अलैंचीको संक्रमित जराको परीक्षण गरिने यान्दियोले बताए ।

छिर्केफुर्के रोगबाट संक्रमित अलैंचीको जरा पिल्सिएको, जरामा पिप देखिएको, माटोमा ब्याक्टेरिया देखिएको र जरा खुुइलिएको पाइएको टोलीले जनाएको छ । पाँचथरका किसानले लगाएको अलैंचीमा केही वर्ष यता छिर्केफुर्के रोग देखा परेको छ ।

यो रोगले विस्तारै पात डढाउँदै बोट पनि मार्ने गरेको छ । पाँचथरसँगै छिमेकी जिल्ला ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, संखुवासभा र भोजपुरमा लगाइएको अलैंचीमा पनि यो रोगको संक्रमण फैलिँदै गएको छ ।