८ असार २०८२, आइतबार | Sun Jun 22 2025


शीर्ष नेताविरुद्धको बागीहरुले उम्मेदवारी फिर्ता लिए


0
Shares

निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन चाहनेका लागि आइतबारको समय तोकेको थियो । आयोगले तोकेको समयमा बागी उम्मेदवारले नाम फिर्ता लिएपछि आधिकारिक उम्मेदवारहरुलाई केही राहत मिलेको छ ।

यस क्रममा पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध बागी उम्मेदवारी दिएकाले नाम फिर्ता लिएका छन् । पार्टीले आफूलाई अवमूल्यन गरेको भन्दै नेपालविरुद्ध काठमाडौं–२ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका एलपी श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका हुन् । नेता नेपालले श्रेष्ठलाई मनाउन आइतबार विहान आफ्नै निवास कोटेश्वरमा दुई घन्टा सम्झाएका थिए ।

यसैगरी, दाङ क्षेत्र नम्बर ३ मा वाम गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएकी गायिका कोमल ओलीले पनि उम्मेदवारी फिर्ता लिएकी छिन् । एक महिनाअघि राप्रपाबाट एमालेमा प्रवेश गर्दा दिएको आश्वासन पूरा नगरेभन्दै ओलीले उम्मेदवारी दिएकी थिइन् । एमाले नेताहरुसँगको छलफलपछि उम्मेदवारी फिर्ता लिएको ओलीले बताइन् ।

यस्तै, दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा ‘क’मा वाम गठबन्धनविरुद्ध बागी बनेका दुई उम्मेदवारले पनि उम्मेदवारी फिर्ता लिएका छन् । मोरङको क्षेत्र नम्बर ३ मा पनि एमाले उम्मेदवार भानुभक्त ढकालविरुद्ध बागी उम्मेदवारी दिएका भेषनाथ रिजालले नाम फिर्ता लिएका हुन् ।

प्रदेशसभामा बागी बनेका डीपी राईले पनि नाम फिर्ता लिएका छन् । पार्टी अध्यक्ष केपी ओलीले यथोचित सम्मान गर्ने प्रतिवद्धता जनाएपछि उम्मेदवारी फिर्ता लिएको बताइएको छ ।

यस्तै, प्रतिनिधिसभा सदस्यका लागि उदयपुर २ मा उम्मेदवारी दिएका एमाले नेता जगन्नाथ खतिवडाले पनि उम्मेदवारी फिर्ता लिएका छन् । माओवादीका हिमाल किराँतीविरुद्ध मनोनयन दर्ता गराएका खतिवडाले नाम फिर्ता लिएका हुन् ।

उदयपुर २ को प्रदेशसभातर्फ भने माओवादीले पार्टी उम्मेदवार भेषकुमारी राउतको नाम फिर्ता लिएर बागी बनेका नारायणबहादुर मगरलाई समर्थन गरेको छ ।

उता, कैलाली क्षेत्र नम्बर ५ मा कांग्रेस उम्मेदवार आरजु राणा देउवाबिरुद्ध बागी उम्मेदवारी दिएका क्षितिज भण्डारीले नाम फिर्ता लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले टेलिफोन गरी उम्मेदवारी फिर्ता लिन आग्रह गरेकाले नाम फिर्ता लिएको भण्डारीले बताए ।

यस्तै, सोही क्षेत्रमा उठेका राप्रपाका दीपक मल्ल र नयाँ शक्तिका निर्प बोहोराले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।