
उम्मेदवारहरुले चुनावी प्रचार थालेका छन् । त्यसमा पनि सबैको राजनीतिक आँखा लाग्ने गरेको काठमाडौं क्षेत्र नम्बर–१ को चुनावी रौनक कम रोचक छैन ।
मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा दलहरु आ–आफ्नो एजेन्डासहित मतदाताको घरदैलोमा पुगेर भोट माग्न व्यस्त हुन थालेका छन् ।
उनीहरुलाई काठमाडौंका चोकचोक र गल्लीगल्लीमा पुगेर भोट माग्न भ्याइ–नभ्याई छ, यतिखेर । यस्तै चुनावी रौनक देखिएको छ, काठमाडौ क्षेत्र नम्बर–१ मा पनि ।
दलहरुको प्रतिष्ठाकोरुपमा रहेको यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह चुनावी मैदानमा छन् भने वाम गठबन्धनबाट अनिलकुमार शर्मा ।
सिंह सर्वमान्य नेता गणेशमान सिंहका पुत्र हुन् भने नयाँ अनुहार शर्मा भने माओवादी नेता जनार्दन शर्माका भाइ ।
प्रकाशमान सिंहले यस क्षेत्रलाई आफ्नो बलियो जनाधारकोरुपमा लिएका छन् भने नयाँ अनुहारका अनिल शर्माचाहिँ वाम तालमेलका कारण परिणाम आफ्नो पोल्टामा पर्ने विश्वासमा छन् ।
लोकतान्त्रिक गठबन्धनका उम्मेदवार सिंह भने ‘शान्ति र संविधानको कार्यान्वयन अनि स्वतन्त्रताको पक्ष र अधिनायकवादको विरुद्धमा भोट’ भन्ने नारालिएर जनताको घरदैलोमा पुगेका छन् ।
काठमाडौंको विकास र व्यवस्थित सहर नेपाली कांग्रेसको पुरानै नारा भएपनि यसपटक कांग्रेसले विकास र समृद्धिको विषयलाई पनि सँगै लगेकाले कांग्रेसकै जित हुनेमा नेपाली कांग्रेसका उम्मेदवार ढुक्क छन् ।
यता, वाम गठबन्धनका साझा उम्मेदवार अनिल शर्माले भने जनताले चाहेजस्तो संविधान निर्माणका लागि आफ्नो उम्मेदवारी भएको दाबी गरे ।
उनले पुरानो नारा र ढर्राबाट राजधानीवासी आजित भएकाले आफूले जित्ने जिकिर गरे ।
काठमाडौं–१ को चुनावी प्रचारमा एकैठाउँ भेटिएका उनीहरु जनताको मन आफूहरुतिर तान्नमै व्यस्त देखिन्थे ।
यही क्षेत्रबाट उठेका छन्, विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र । वर्तमान राजनीतिको विकल्प भनेर आएको मिश्र पनि मतदाता रिझाउन व्यस्त छन् ।
प्रतिक्रिया दिनुहोस्