Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


धितोपत्र दलाल व्यवसायीहरुका लागि ‘मार्जिन’ कारोबार खुला


0
Shares

नेपाल धितोपत्र बोडले ‘मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशन, २०७४’ जारी गर्दै दलाल व्यवसायीहरुलाई मार्जिन कारोबार खुला गरेको हो ।

यसका लागि कम्तीमा १० हजार सेयरधनी रहेको तथा ‘नेटवर्थ’ सकारात्मक रहि पछिल्लो दुई आर्थिक वर्षमा कम्तीमा वार्षिक १० प्रतिशत लाभांस वितरण गरेको सूचीकृत संगठित संस्थाको सेयरमामात्र मार्जिन कारोबार सुविधा उपलब्ध गराउनुपर्ने, मार्जिन कारोबार सुविधा उपलब्ध गराउने धितोपत्र दलाल व्यवसायीको खुद सम्पत्ति कम्तीमा ५ करोड रुपैयाँ हुनुपर्नेलगायतका व्यवस्था गरिएको छ ।

धितोपत्र दलाल व्यवसायीले सूचीकृत संगठित संस्थाको सेयरको १८० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ, सोको ५० प्रतिशतले हुन आउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनकारुपमा लिनुपर्ने, धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा अवधिभर बजारको अवस्था तथा जोखिम हेरी ग्राहकसँग न्यूनतम् ४० प्रतिशत ‘मेन्टिनेन्स मार्जिन’ लिनुपर्ने व्यवस्था गरिएको छ ।

ग्राहकले मार्जिन कारोबारमा खरिद गरेको सेयरमा आवश्यक पर्ने मेन्टिनेन्स मार्जिन भुक्तान गर्न नसकेमा धितोपत्र दलाल व्यवसायीले सो सेयर बिक्री गर्न सक्नेछ ।

दलाल व्यवसायीले आफ्नै स्रोत वा वाणिज्य बैंकसँग रकम लिएर मार्जिन कारोबार सुविधा प्रदान गर्न सक्नेछन् ।

दलाल व्यवसायीले आफ्नो प्रमाणित नेटवर्थको दुई गुणासम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउनसक्नेलगायतका व्यवस्था बोर्डले गरेको छ ।

धितोपत्र दलाल व्यवसायीले कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्यलाई आफ्नो नेटवर्थको बढीमा १० प्रतिशतसम्ममात्र कारोबार सुविधा उपलब्ध गराउनसक्ने व्यवस्था पनि गरिएको छ ।

यस निर्देशनबाट मार्जिन कारोबार सम्बन्धमा स्पस्टरुपमा नीतिगत व्यवस्था भइ मार्जिन कारोबार सुविधा कार्यान्वयनमा आइ दोस्रो बजारमा नयाँ अध्याय थपिने बोर्डले जनाएको छ ।