७ असार २०८२, शनिबार | Sun Jun 22 2025


चुनावी प्रचारका लागि मनाङका उम्मेदवार काठमाडौंमा


0
Shares

मनाङका लगभग ५० प्रतिशतभन्दा बढी मतदाता काठमाडौंमै बसोबास गर्ने भएकाले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार काठमाडौंमा प्रचार गर्न गएका हुन् ।

काठमाडौंमा बसोबास गर्ने मनाङीको मतदाता नामावली मनाङमै भएको हुनाले उम्मेदवार उम्मेदवारी मनोनयनपछि काठमाडौं पसेका हुन् ।

विशेष गरेर माथिल्लो मनाङ र नारफुका मानिस व्यापार–व्यवसायका लागि मनाङ छाडी काठमाडौं बसोबास गर्दै आएका छन् ।

काठमाडौंवासी मतदान गर्न मनाङ आउने भएका कारण उम्मेदवार मतदाता खोज्दै काठमाडौं पुगेका हुन् ।

मनाङमा उच्च प्रतिस्पर्धामा रहेका दुई ठूला दल कांगे्रस र एमालेका उम्मेदवार मतदाताको घरदैलोमा मत मागिरहेका छन् ।

कांगे्रसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार टेकबहादुर गुरुङ, प्रदेश ‘क’का चिन्तबहादुर घले र प्रदेश ‘ख’का कर्म गुरुङलगायतका प्रचार टोली अहिले काठमाडौंमा प्रचार–प्रसारमा खटिरहेको कांग्रेस जिल्ला सचिव सुरेन्द्र गुरुङले बताए ।

त्यस्तै, एमालेका प्रतिनिधिसभा सदस्यका उम्मेदवार पाल्तेन छोपाङ गुरुङ, प्रदेश ‘क’का धोर्जे ढिन्दुल गुरुङलगायतका प्रचारप्रसार टोली भने प्रचार–प्रसार सकी मनाङ फर्किएको एमाले पार्टी स्रोतले जनाएको छ ।

मनाङका आधाभन्दा बढी मतदाता काठमाडौंमा बसोबास गर्ने भएकाले उम्मेदवार मतदाताको मन जित्न काठमाडौं गएका हुन् । रासस