
स्वास्थ्य मन्त्रालयले वर्षेनी ५० लाख रुपैयाँ क्यान्सरपीडित बालबालिकाको निःशुल्क उपचारका लागि कान्ति बाल अस्पताल निकासा गरेको छ । तर, क्यान्सरपीडितहरुले त्यसबाट कुनै सुविधा नपाएको गुनासो गरेका छन् भने अस्पताल प्रशासनले बजेट अत्यन्तै न्यून भएको जवाफ दिएको छ ।
क्यान्सरपीडित बालबालिकाको निशुल्क औषधी उपचारका लागि प्रत्येक वर्ष ५० लाख रुपैयाँ राजधानीस्थित कान्ति बाल अस्पतालमा निकासा भएपनि आफूहरुले कुनै सुविधा पाउन नसकेको गुनासो क्यान्सरपीडित बालबालिकाका अभिभावकहरुले गरेका छन् ।
यता, अस्पताल प्रशासनले भने अझैसम्म यस्तो सुविधा कसले, कुन–कुन अवस्थामा पाउने भन्ने स्पष्ट मापदन्ड तयार गरेको छैन । स्वास्थ्य मन्त्रालयले पठाएको बजेटबाट टेन्डरमार्फत् ४१ प्रकारको औषधि किनेको अस्पतालले बताएको छ । तर, त्यो विवरण पनि अस्पताल प्रशासनले सार्वजनिक भने अझैसम्म गरेको छैन ।
अस्पतालका निर्देशक डा.गणेश राईले स्वास्थ्य मन्त्रालयले क्यान्सरपीडित बालबालिकाको लागी पठाएको रकम थोरै भएको बताए । उनले उक्त रकमबाट किनिएको औषधि सबै बिरामीलाई दिए तीन महिनासम्म पनि नपुग्ने बताए ।
अस्पतालले किनेको औषधि अहिलेसम्म कस–कसलाई कति दिइयो त भन्ने जवाफ पनि अस्पतालसँग छैन । बिरामी पक्षको भनाइअनुसार, निशुल्क औषधि बिरामीसामु पुगेकै छैन् । निशुल्क भनिएको औषधि नै चर्को मूल्य तोकेर किन्न बाध्य हुनुपरेको पीडितहरुको गुनासो छ ।
क्यान्सरका बिरामीलाई कुन–कुन औषधि आवश्यक छ र कुन–कुन औषधि निशुल्क दिने भनेर सम्बन्धित चिकित्सकसँग छलफलसमेत हुने नगरेका विशेषज्ञ चिकित्सकहरुको गुनासो छ ।
सन् १९९७ मा लिभरपुल निवासी कारमेल टचले क्यान्सर भएका बालबालिका लागी उपचार खर्च भनेर दिएको २ लाख १७ हजार ६०० रुपैयाँबाट स्थापना गरिएको कोषमा हाल ४ करोड बराबरको रकम पुगेको छ ।
यद्यपि, रकमको सदुपयोग नहुँदा वास्तविक क्यान्सरपीडित बालबालिकाले राहत पाउन नसकेकोतर्फ सम्बन्धित निकायले गम्भीरतापूर्वक ध्यान जान सकेको छैन् ।
प्रतिक्रिया दिनुहोस्