
सदरमुकाम दिक्तेलसहित गाउँगाउँमा उम्मेदवारहरु घरदैलो अभियानमा लागेका छन् ।
आसन्न मंसिर १० मा हुने निर्वाचनमा खोटाङमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि १० राजनीतिक दलका १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
दलहरु आपसी छलफल, रणनीति बनाउन र चुनावी प्रचार प्रसारमा व्यस्त छन् भने सर्वसाधारण नेतृत्व चुन्न आतुर देखिएका छन् ।
प्रदेशसभाका लागि दुई र प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको खोटाङमा क्षेत्र नम्बर १ मा ६४ हजार ६ सय ४० मतदाता, ४० वडा, ६९ मतदान स्थल र ९१ वटा मतदान केन्द्र रहेका छन भने क्षेत्र नम्बर २ मा ६० हजार ५ सय ४३ मतदाता, ३९ वडा, ६७ वटा मतदान स्थल र ८८ वटा मतदान केन्द्र रहेका छन् ।
प्रदेशसभा र प्रतिनिधिसभा नियमावली अनुसार प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको एक उम्मेदवारले २५ लाखसम्म र प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारको बन्द सूचिमा रहेका उम्मेदवारको हकमा २ लाख र प्रदेशसभाको उम्मेदवारको हकमा १ लाख ५० हजार खर्च गर्न पाउने नियम रहेको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्री बताउँछन् ।
जिल्ला निर्वाचन अधिकारी खत्रीका अनुसार निर्वाचन कार्यालयले ६४ प्रकारका सामाग्रीहरु मध्ये आफंले खरिद गर्नुपर्ने १४ प्रकारका सामाग्री खरिदको प्रक्रिया अगाडि बढाइरहेकोे छ ।
जिल्लास्थित राजनीतिक दलहरुले आफ्नो प्रचारलाई पनि तिब्र अगाडी बढाएका छन् । जिल्लास्थित मतदाताहरुमा आसन्न प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा भोट हाल्नमा उत्सुकता पनि त्यत्तिकै मात्रामा रहेको पाइन्छ ।
मंसिरमा खेतीपाती उठाउने बेला भएका कारण केही समस्या भएको मतदाता बताउँछन् ।
आसन्न निर्वाचन सुरक्षाका लागि जिल्लामा ९ सय ८२ जना म्यादी र ८ सय २३ जना प्रहरी गरि जम्मा एक हजार ८ सय २३ जना खटाइने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापा बताउँछन् ।
गत स्थानीय तहको निर्वाचनमा १ सय ७३ वटा मतदान केन्द्र रहेका खोटाङमा आसन्न निर्वाचनको लागि थप ६ वटा मतदान केन्द्र थप गरि १ सय ७९ वटा मतदान केन्द्र बनाइएको छ ।
७९ वडा कायम जिल्लाका १ लाख २५ हजार १ सय ८३ मतदाताबाट १ जना प्रतिनिधिसभा र दुई जना प्रदेशसभाका लागि जनप्रतिनिधि चयन हुनेछन् । उक्त प्रतिनिधिका लागि १९ जनाको मनोनयन दर्ता भएको छ ।
प्रतिक्रिया दिनुहोस्